समाज

भीमफेदी जिप दुर्घटनामा मृत्यु हुने तीन जनाको पहिचान खुल्यो

हिमालय टिभी
२०७७ असोज १८ गते १८:२४
भीमफेदी जिप दुर्घटनामा मृत्यु हुने तीन जनाको पहिचान खुल्यो

१८ असोज, २०७७ टिस्टुङ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको जिप दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् ।

ना १ ज ४१०६ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटौंँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा झापा, जोरपानी गाउँपालिका बस्ने २५ वर्षीया देवीकुमारी गिरी, मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २५ वर्षीय भीमबहादुर थिङ र मकवानपुरकै राजन राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी गिरीको हेटौंँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइते हेटौंँडा ३ बसामाडी बस्ने ३० वर्षीया शर्मिला थिङ, मकवानपुरगढी गाउँपालिका–४ बस्ने २७ वर्षीय सोमबहादुर गुरुङ, रौतहट, रङ्गपुर गाउँपालिका बस्ने २९ वर्षीय सुजनकुमार काफ्ले, चालक भीमफेदी–४ घर भई हाल सामरी बस्ने विष्णु मगर र नाम, ठेगाना नखुलेको अन्दाजी पाँच वर्षीय बालक छन् ।

घाइते थिङ, गुरुङ र काफ्लेलाई भने थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै सुमो चालक मगरको हाल चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । पहिचान नखुलेका बालकलाई भने सामान्य उपचारपछि हेटौंँडास्थित एक शिशुस्याहार केन्द्रमा संरक्षणका लागि जिम्मा लगाइएको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

आज बिहान ११ बजे हेटौंँडाबाट काठमाडौँका लागि छुटेको दक्षिणकाली सुमो सेवाको गाडी चिसापानी गढीमा दुर्घटना हुँदा सडकबाट झण्डै १०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *