आर्थिक

बर्दियाका किसान बीउ उत्पादनमा आकर्षित, आम्दानी पनि मनग्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १८ गते १४:३६
बर्दियाका किसान बीउ उत्पादनमा आकर्षित, आम्दानी पनि मनग्य (भिडियोसहित)

१८ असोज, २०७७, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका क्षेत्रका किसान धान, गहुँ र मुसुरो लगायतका बालीको बीउ उत्पादनमा आकर्षित हुन थालेका छन् । निर्वाहमुखी खेती गर्दै आएका किसान पछिल्लो समय व्यवसायिक रूपमै बीउ उत्पादनमा लागेका हुन् ।

पहिला–पहिला खानका लागि धान, गहुँ र मुसुरो खेती गर्दै आएका बढैयाताल गाउँपालिकाको कालिका क्षेत्रका किसान अहिले बीउ उत्पादनमा लागेका छन् । बीउको रूपमा प्रयोग हुने धान तथा गहुँको बजार मूल्य बढी हुने र निःशुल्क रुपमा प्राविधिक सहयोगसमेत घरआँगनैमै पाइन थालेपछि किसान बीउ उत्पादनमा लागेका हुन् ।

२०७२ सालदेखि साना किसान कृषि सहकारी संस्था लिमिटेड कालिकाले धान तथा गहुँ बालीको बीउ उत्पादन, संकलन र प्रशोधन गरी विक्रीवितरणको कार्यक्रम सञ्चालनमा ल्याएपछि किसानले व्यावसायिक रूपमा बीउ उत्पादन गर्दै आएका छन् । मूल्य पनि बढी पाइने र उत्पादन पनि बढी हुने भएपछि बीउ उत्पादनमा फाइदा भएको किसानको अनुभव छ ।

किसानले उत्पादन गरेको बीउ साना किसान कृषि सहकारीले बजार मूल्यभन्दा बढीमा सहजै खरिद गर्ने र बीउ तथा मल खरिदमा बीउ उत्पादन गर्ने किसानलाई पहिलो प्राथमिकता दिने गरेको छ ।

भारतबाट भित्रिने बीउमा निर्भर रहन बाध्य जिल्लाका किसानलाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउन र खाद्यान्न बाली उत्पादकत्वमा वृद्धि गर्न कृषि सहकारी संस्थाले उन्नत बीउ विजन उत्पादन, संकलन र प्रशोधनको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सहकारीको प्राविधिक सहयोगमा किसानले अहिले प्रजनन् बीउबाट मूल, प्रथम र उन्नत गरी तीन किसिमको बीउ उत्पादन गर्दै आएका छन् । बीउ उत्पादनका लागि आवश्यक ग्रेडिङ, प्याकिङ, ट्यागिङ मेशिन सहकारीले सञ्चालन गरिरहेको छ ।

किसानले उत्पादन गरेको बीउ बर्दियाबाहेक बाँके, दाङ, कैलालीलगायतका जिल्लामा बिक्री हुँदै आएको छ । सहकारीमार्फत किसानले यस वर्ष करिब एकसय विगाहा क्षेत्रफलमा राधा–४, बहुगुणी–२ तराई खजुरा र जिरा मनसुली जातको धानको बीउ उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *