आर्थिक

कस्तो आउनु पर्छ नयाँ अर्थमन्त्री ? विज्ञ यसो भन्छन् (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १६ गते २०:३१
कस्तो आउनु पर्छ नयाँ अर्थमन्त्री ? विज्ञ यसो भन्छन् (भिडियोसहित)

१६ असोज, २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाएपछि अर्थ मन्त्रालय बालुवाटारबाटै चलाउने तयारी भएको हो कि भन्ने आशंका उत्पन्न भयो । तर, सरकारले खतिवडालाई राजदूतमा सिफारिस गरेपछि अब अर्थमन्त्रालयको नेतृत्व कसले सम्हाल्ला भन्ने चर्चा हुन थालेको छ । अहिलेको संकटपूर्ण अवस्थाबाट मुलुकको अर्थतन्त्र पार लगाउने व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने विज्ञ र निजी क्षेत्रको मत छ ।

समग्र स्रोत साधन परिचालनको डाड्युपुन्यु हुने भएकाले अर्थमन्त्रीलाई प्रधानमन्त्रीपछिकै शक्तिशाली मानिन्छ । त्यसैले अहिले खाली रहेको अर्थमन्त्रालय सम्हाल्न नेकपामा हानाथाप र दौडधुप चलिरहेको छ ।

यो दौडमा नेकपा उपाध्यक्ष बामदेव गौतमदेखि महासचिव विष्णु पौडेलसम्म हुनुहुन्छ । गौतमले राष्ट्रियसभाको सासंद हुनुअघि नै मन्त्र‍ी बन्ने र त्यसमा पनि अर्थ मन्त्रालय हाँक्ने इच्छा राख्नुभएको छ । उहाँलाई प्रधानमन्त्री ओलीबाहेक नेकपाका अन्य शीर्ष नेताको साथ छ । तर गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिट अझै टुंगो लागेको छैन ।

महासचिव विष्णु पौडेल पनि अर्थमन्त्रीको बलियो दाबेदार हुनुहुन्छ । प्रधानमन्त्री ओलीका विश्वासपात्र भएकाले उहाँलाई भावी अर्थमन्त्रीका रुपमा हेरिएको हो । यस्तै भावी अर्थमन्त्रीका रुपमा सुरेन्द्र पाण्डेको पनि चर्चा चलिरहेको छ । तर प्रधानमन्त्रीले कस्तो मानिसलाई अर्थमन्त्रालयको जिम्मा दिनुहुनेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन । मुलुकको अर्थतन्त्र नबुझेको व्यक्ति अर्थमन्त्री बने त्यसको असर सबै क्षेत्रमा पर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।

सामान्य अवस्थामा अर्थमन्त्रालयले अर्थतन्त्र र समाज राम्रोसँग बुझेको व्यक्ति खोज्छ । तर कोरोना महामारीका कारण अहिले अर्थतन्त्र संकटमा छ । लकडाउन र निषेधाज्ञाका कारण अधिकांश क्षेत्रमा धक्का पुग्दा आर्थिक वृद्धि १ प्रतिशतको आसपासमा झर्ने अनुमान गरिएको छ ।

एकातर्फ लक्ष्यअनुरुप राजस्व नउठ्दा स्रोत व्यवस्थापन गर्न समस्या छ भने अर्कातर्फ सरकारी खर्चसमेत हुन सकेको छैन् । स्वदेशभित्र लाखौँले रोजगारी गुमाएका मात्र छैनन् कैयौंले दुई छाक खानका लागि लाइन बस्नु परिरहेको छ । रोगभन्दा भोकको डर भएको भन्दै नाकामा भारत जानेको संख्या बढिरहेको छ । यस्तो संवेदनशील अवस्थामा यी सबै विषय सम्बोधन गर्न सक्ने क्षमता भएको अर्थमन्त्री देशलाई चाहिएको छ ।

सरकार गठन हुँदा डा. युवराज खतिवडालाई अर्थमन्त्रीका रुपमा जिम्मेवारी दिइएपछि विज्ञले मन्त्रालय सम्हालेको भन्दै तारिफ भएको थियो । तर प्रधानमन्त्रीबाहेक अरुलाई सुन्दै नसुन्ने खतिवडाको विज्ञताबाट आम नागरिकले भने खासै केही पाएनन् । त्यसैले जनता र उद्योगी व्यवसायीको भावना बुझेर अर्थतन्त्रलाई गति दिन सक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउनुपर्नेमा निजी क्षेत्रको जोड छ ।

कोरोनाले थिलोथिलो बनाएको अर्थतन्त्रलाई ठिक अवस्थामा ल्याउने व्यक्तिको खाँचो छ । तर सत्तारुढ नेकपामा भने आर्थिक ज्ञान खासै नभएका शीर्ष नेता नै अर्थमन्त्रीको दौडमा छन् ।

उसो त तत्कालिन विपक्षी दल माओवादीको असहयोगका बावजुद तुलनात्मकरुपमा अर्थ मन्त्रालय राम्रोसँग चलाएका सुरेन्द्र पाण्डेको पनि चर्चा छ । तर वरिष्ठ नेता माधव नेपाल खेमाका पाण्डे प्रधानमन्त्री ओलीको रोजाईमा पर्ने सम्भावना न्युन छ । नेकपाभित्रको तानातानले अर्थमन्त्रीमा को आउँछ भन्ने अझै स्पष्ट हुन सकेको छैन । तर विज्ञ र निजी क्षेत्रको सुझाव समेत लिएर अर्थमन्त्री बनाउन सके सरकार र मुलुककै लागि हित हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *