राजनीति

प्रदेश ५ को राजधानी र नामाकरणमा पोखरेलले मारे बाजी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १६ गते २०:१४
प्रदेश ५ को राजधानी र नामाकरणमा पोखरेलले मारे बाजी (भिडियोसहित)

१६ असोज, २०७७, काठमाडौं । सत्तारुढ नेकपाको दुई तिहाई बहुमत भएकाले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुबाङ क्षेत्रमा हुने निश्चित भएको छ । तर प्रदेशले स्थायी राजधानी र नाम पाउन ढिलाई हुनुमा नेकपाका दुई नेता खासगरी मुख्यमन्त्री शंकर पोखरेल र नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको भूमिका जिम्मेवार थियो । दुई जनाको तानातानमा दाङका पोखरेलले बाजी मार्नुभएको छ ।

प्रदेशको नाम र राजधानी तोक्ने जिम्मेवारी प्रदेश सभाको हो । त्यसका लागि सरकारले सभामा प्रस्ताव लैजानुपर्छ । तर सरकार बनेको झण्डै तीन वर्षपछि मात्रै प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव गयो । र, यसरी ढिला हुनुको कारण हो – नेकपाका महासतिव विष्णुप्रसाद पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको चुनावी मुद्दा ।

पौडेलले बुटवल र पोखरेलले दाङमा राजधानी बनाउने भनेर भोट माग्नुभएको थियो । पौडेल र पोखरेलले यो चुनावी मुद्दालाई यति पेचिलो बनाउनुभयो कि चुनाव जितेपछि पनि ठाउँठाउँमा दुवैले आ–आफ्नो क्षेत्रका लागि लबिङ गर्नुभयो । यतिसम्मकी आफ्नो क्षेत्रमा राजधानी नभए आन्दोलन गर्ने चेतावनी समेत दुई नेताले दिए ।

परिणाम प्रदेश सरकारले सभामा प्रस्ताव नै लैजान सकेन ।
नेकपाका दोस्रो तहका प्रभावशाली नेताको विवाद र बहसकाबीच प्रदेश सभाले नाम र प्रदेशको राजधानीबारे सिफारिस गर्न संसदीय समिति बनायो ।

समितिले रुपन्देहीको बुटवल–सैनामैना, कपिलवस्तुको वाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्र प्रस्ताव गर्यो । त्यसपछि पनि दुई नेताले आ–आफ्नो चुनावी एजेण्डा अनुसार बुटवल र दाङका लागि लबिङ गर्न छोडेनन् । यसले पार्टीभित्र पनि समस्या सिर्जना भयो, कार्यकर्ता समेत एकअर्काको समर्थन र विरोधमा उत्रिन थाले ।

स्रोतहरुका अनुसार विषय यति पेचिलो बन्यो कि प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई नेताले एकअर्कालाई चेतावनी दिनेसम्मको अवस्था आयो । यही बिचमा बाँके र बर्दियाले हामी कर्णाली प्रदेशमा मिसिन्छौ भनेर बोल्न थाले । र, महासचिव पौडेल र मुख्यमन्त्री पोखरेलेबीच सार्वजनिक रुपमा बुटवल कि दाङ भनेर नबोल्ने बरु पार्टी नेतृत्वलाई जिम्मा दिने सहमति भयो ।

मुख्यमन्त्री पोखरेलले ०७६ पुषको स्थायी कमिटी बैठकमा पार्टीको शीर्ष नेतृत्वलाई प्रदेशको राजधानी र नाम तोकिदिन प्रस्ताव नै पेश गर्नुभयो । त्यसपछि राजधानीका विषयमा चलिरहेको दुई नेताबीचको शीत युद्ध मत्थर भयो । ओली पक्षीय यी दुई नेताबीचको संघर्षमा अहिले मुख्यमन्त्री पोखरेलले बाजी मार्नुभएको छ । र, नेकपाको पछिल्लो निर्णयसँगै महासचिव पौडेलको बुटवल क्षेत्रमा आलोचना हुन थालेको छ ।

सत्तारुढ नेकपाका कार्यकर्तासँगै त्यो क्षेत्रको सिंगो कांग्रेस पनि असन्तुष्ट छ । बुटवलमा आन्दोलन नै शुरु भएको छ । मान्छे मिलाउन र चित्त बुझाउन निकै खप्पिस पौडेलले चुनावी वाचा पुरा गर्न नसकेको विषयलाई अब कसरी शान्त पार्नु हुन्छ हेर्न बाँकी छ । अर्थमन्त्रीको दौडमा रहेका पौडेलले दोस्रो पटक अर्थमन्त्रीको मौका पाए त्यसलाई बुटवल क्षेत्रमा आफूविरुद्ध देखिएको असन्तुष्टि साम्य पार्न प्रयास गर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्