समाज

सिरहा र सुनसरीका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु

हिमालय टिभी
२०७७ असोज १६ गते १५:०७
सिरहा र सुनसरीका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु

१६ असोज, २०७७, विराटनगर । सिरहा र सुनसरीका दुई जना कोरोना संक्रमित पुरुषको एम्बुलेन्समै मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि विराट मेडिकल कलेजमा लगिएका दुई जनाको शुक्रबार एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरी खनारका एक वृद्ध र सिरहाका एक पुरुष छन् । उनीहरूलाई थप उपचारका लागि मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको आइसोलेशनमा लगिएको थियो ।

तर दुवै जनाको दिउँसो १२ः३० बजेतिर एम्बुलेन्समै मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालका आइसोलेशन इन्चार्ज सुनिल देवले बताउनुभयो।

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध पुरुषको पीसीआर परीक्षण रिपोर्ट तीन दिनअघि पोजेटिभ आएको थियो ।

होम आइसोलेशनमा बस्नु भएका उहाँ श्वासप्रश्वासको समस्या बढ्दै गएपछि आइसोलेशनमा राखेर उपचार गराउन एम्बुलेन्समा राखेर विराट शिक्षण अस्पताल ल्याइएको थियो ।

देवले वृद्धको ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भएको हुनसक्ने बताउनुभयो। आइसोलेशनमा उपचारका लागि लैजाने तयारी हुँदै गर्दा वृद्धको मृत्यु एम्बुलेन्सभित्रै भइसकेको अवस्थामा अस्पताल ल्याई पुर्‍याएको देवले जानकारी दिनुभयो।

वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको थियो ।
विराटनगरको नोबेल मेडिकल कलेजबाट थप उपचारका लागि विराटतर्फ लगिँदै गरेका सिरहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषको पनि एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।

उनको सोमबारयता नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बिहीबार साँझ रिपोर्ट पोजेटिभ आएपछि नोबेलले थप उपचारका लागि विराटको आइसोलेशनमा रिफर गरेको थियो ।

आइसोलेशनमा लैजाने तयारी भइरहँदा उपचारका लागि ल्याएको एम्बुलेन्सभित्रै पुरुषको मृत्यु भएको पाइएको आइसोलेशन इञ्चार्ज देवले जानकारी दिनुभयो । उनका अनुसार मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो ।

शुक्रबार दिउँसो विराटनगर–१४ की महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *