आर्थिक

नाकामै रोकिए सामान, यसपालि दशैंमा नयाँ लुगा नपाइने ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १५ गते १८:०६
नाकामै रोकिए सामान, यसपालि दशैंमा नयाँ लुगा नपाइने ! (भिडियोसहित)

१५ असोज, २०७७, काठमाडौं । नेपालमा वर्षभरी हुने कुल व्यापार मध्ये आधाजसो दशैंकै अवसरमा हुनेगर्छ । तर दसैंका लागि आयात गरिएका सामान चिनियाँ नाकामै अड्किएका कारण यो वर्ष बजारमा नयाँ लत्ताकपडा नआउने देखिएको छ । यसले दशैमा नयाँ लुगा किन्न चाहनेलाई समस्या हुने भएको छ ।

चीनतर्फको केरुङ र तातोपानी नाकाबाट सहजरुपमा कन्टेनर नआउँदा त्यसको असर दसैंको बजारमा देखिने भएको छ । दसैंका लागि व्यवसायीले आयात गरेका लत्ताकपडा चिनियाँ नाकामै अड्किएका छन् । यसकारण यो वर्षको दसैंमा नयाँ लुगा किन्न चाहनेका लागी समस्या हुन सक्नेछ ।

दशैतिहारमा आवश्यक लत्ताकपडा, जुत्ता जस्ता सामान चीनबाटै आयात हुन्छ । तर असोज ७ गतेदेखि बल्ल(तल्ल सञ्चालनमा आएको केरुङ नाकाबाट चीनले दैनिक ४–५ वटा कन्टेनर मात्र पठाउने गरेको छ ।

त्यसैले केरुङमा सामान बोकेका १२ सय कन्टेनर अड्किएका छन् । असारदेखि बन्द तातोपानी नाकामा करिब ८ सय कन्टेनर रोकिएका छन् । त्यसैले चिनियाँ नाकाबाट दसैंअघि नयाँ लत्ताकपडा आउने सम्भावना कम छ ।

नेपालमा दसैंतिहारजस्ता प्रमूख चाड सुरु हुन लागेको भन्दै नेपाली पक्षले चीनसँग निर्वाधरुपमा कन्टेनर पास गराउन पहल गर्दै आएको थियो । तर नेपालले पहल गरिरहेकै बेला केरुङ नाका पारीको जिलङ पोर्टमा पहिरो गएको छ । यसले समस्या थपेको छ । ‍

नेपालमा कुल वार्षिक उपभोगको २० प्रतिशत खपत र कुल व्यापारको ४० प्रतिशत व्यापार समेत दशैमै हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय शिथिल अर्थतन्त्र दसैंका बेला चलायमान हुने अपेक्षा गरिएको थियो । तर नाकामा चीनको अवरोधका कारण त्यसो हुन सकेको छैन । त्यसैले यो वर्ष व्यवसायी र उपभोक्ताका लागि दशै खल्लो बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *