आर्थिक

आजबाट दशैं, तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउँदै

हिमालय टिभी
२०७७ असोज १५ गते ७:२३
आजबाट दशैं, तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउँदै

१५ असोज, २०७७ काठमाडौं । सरकारले आजदेखि दशैं,तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल खोल्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिनेछ । काठमाडौँ उपत्यकामा १६ सथानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ ।

एकीकृत सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छ भने चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट पाइने छ । त्यसतै च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ ।

डीडीसी घिउमा प्रतिलिटर ३० रुपियाँ छुट दिने भएको छ । मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ठाउँमा सहुलियत पसल हुने छन् ।

त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा २४ वटा पसल सञ्चालन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *