खेलकूद

फुटबल प्रशिक्षणको वातावरण बनाइदिन सरकारलाई आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १४ गते २०:४०
फुटबल प्रशिक्षणको वातावरण बनाइदिन सरकारलाई आग्रह (भिडियोसहित)

१४ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपाली खेलकुदका सबै गतिविधि ठप्प छन् । सरकारले समूहमा खेलिने सबै खेलकुदलाई निषेध गरिरहेको अवस्थामा फुटबलका सबै गतिविधि शुन्य नै छन् ।

तर, फिफा विश्वकप छनोट नजिकै आइरहेको अवस्थामा अखिल नेपाल फुटबल संघले यथाशिघ्र प्रशिक्षण गर्ने वातावरण बनाइदिन सरकार समक्ष माग गरेको छ ।

फिफा विश्वकपको छनोटका खेलहरु जनवरीसम्म स्थगित छन् । छनोट प्रतियोगिता खेल्नु अघि संचालन हुने अभ्यास खेल पनि निकै महत्वपूर्ण हुन्छ।

अहिले अरु देशमा खेलकुद गतिविधि सुरक्षा मापदण्ड अपनाएर संचालन हुने क्रममा रहँदा नेपालमा भने फुटबल गतिविधि शुरु गर्ने कुनै संकेत समेत छैन । अभ्यास समेत गर्न नपाउँदा खेलाडी आत्तिन थालेका छन् । त्यसैले प्रशिक्षणमा फर्किने वातावरण बनाइदिन सरकारसमक्ष एन्फाको माग छ ।

अहिले खेलाडी घरमै समय कटाउँदैछन् । भ्याएसम्मको पनि अभ्यास गरिरहेका छन् । तर, समूहमा खेलिने फुटबलका लागि एक्लै प्रशिक्षण गर्नु फलदायी हुँदैन । त्यसैले उनीहरु पनि मैदानमा फर्किन आतुर छन् । विश्वकप छनोटको समय नजिकिँदै जाँदा नेपाललाई मैत्रिपूर्ण खेलको प्रस्ताव पनि आइरहेको छ । तर, त्यसका लागि खेलाडीले प्रशिक्षण नै गर्न पाएका छैनन् ।

खेलाडीको प्रमुख समस्या फिटनेस हो । एन्फाले आधुनिक प्रविधिको प्रयोगबाट अनलाइन को मार्फत फिट रहने उपायको प्रशिक्षण दिइरहेको छ । तर, अनलाइनभन्दा प्रत्यक्ष भेटेर खेलाडीको कमजोरी केलाउनु बढी प्रभावकारी हुन्छ भन्नेमा दुई मत छैन ।

कोभिड–१९ को महामारीका कारण अहिले कुनै पनि प्रतियोगिता आयोजना हुन सक्ने अवस्था छैन । त्यसैले मैत्रिपूर्ण खेल पनि खेलाडीको प्रदर्शन सुधार्न र गल्ती केलाउन महत्वपूर्ण हुन्छ । त्यसैले खेलाडी कम्तिमा प्रशिक्षणमा फर्किन पाए प्रदर्शन राम्रो हुने आशमा छन् । यसतर्फ एन्फाले प्रभावकारी कदम चाल्नु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्