समाज

आर्थिक प्रलोभनमा बली दिन भारत लगिँदै गरेका दुई युवतीको उद्धार, दुई जना पक्राउ

हिमालय टिभी
२०७७ असोज १४ गते १८:४०
आर्थिक प्रलोभनमा बली दिन भारत लगिँदै गरेका दुई युवतीको उद्धार, दुई जना पक्राउ

१४ असोज, २०७७, विराटनगर । पैसाको प्रलोभन देखाई बली दिन लगिएको आशंकामा सुनसरी प्रहरीले दुई युवतीलाई बुधबार उद्धार गरेको छ ।

नेपाल–भारतको सिमावर्ती क्षेत्र भण्टाबारीबाट दुई युवतीको उद्धार गरिएको हो । विभिन्न प्रलोभनमा पारेर बली दिन लैजाँदै गरेको आशंकामा सुनसरी प्रहरीले दुई जना जनालाई पक्राउ समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार सप्तरीको दौलतपुर नगरपालिका–३ बस्ने १८ वर्षीया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ बस्ने २२ वर्षीया सुचिकला चौधरीको उद्धार गरिएको छ ।

युवतीलाई भारत लाने क्रममा सिरहाको कृष्णसवण गाउँपालिका–४ बस्ने २९ वर्षीय महमद साहिल अन्सारी र लहान नगरपालिका–१९ बस्ने ३२ वर्षीय विवस कुमार साह रहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । उनीहरुलाई भारतको बाबाजीको पूजामा सहभागी भएपछि बाबाजीले ४ लाख रुपैयाँ दिने सर्तमा भारत जान लागेको युवतीले प्रहरी समक्ष बयान दिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

नेपाल–भारत सीमा भण्टाबारी बीओपीले उनीहरुलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीलाई बुझाएको थियो । नेपाल प्रहरीका अनुसार युवतीहरुलाई लिएर सुनसरीको कोशी गाउँपालिका–८ पूर्वीटोल र भारतीय सीमा क्षेत्र सुपौलको भीमनगर ग्राम पञ्चायत–१२ मा पर्ने बोर्डर पार गर्न लागेका बेला दुबैतर्फका सीमा सुरक्षामा खटिएका प्रहरीले रोकेर सोधपुछ गर्ने क्रममा ललाई फकाई गरी बली दिन लगिएको आशंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

यसअघि मोरङ प्रहरीले पनि सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया किशोरीलाई विराटनगरको रानीस्थित सिमावर्ती क्षेत्रबाट उद्धार गरेको थियो।

गएको बुधबार अविवाहित युवती आवश्यक पर्ने पूजामा बस्दा टीका लगाएर पाँच हजार रुपैयाँ दक्षिणा दिने र एउटा मोबाइलसमेत किनिदिन्ने सर्तमा विराटनगर महानगरपालिका–१७ इस्लामपुरको बाटो हुँदै भारततर्फ लिएर गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *