आर्थिक

पुनर्कर्जाका लागि आवेदन १६ दिन थप गर्ने राष्ट्रबैंकको निर्णय

हिमालय टिभी
२०७७ असोज १२ गते १७:४५
पुनर्कर्जाका लागि आवेदन १६ दिन थप गर्ने राष्ट्रबैंकको निर्णय

१२ असोज, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने म्याद १६ दिन थप गरेको छ ।

यसअघि असोज १४ गतेसम्म आवेदन दिन भनिएकोमा अब भने असोज ३० सम्म आवेदन दिन मिल्ने भएको हो । कोभिड–१९ को संक्रमणका कारण समय थपिएको राष्ट्र बैंकले जनाएको छ ।

पुनर्कर्जाका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले एकमुस्टरुपमा प्रस्ताव पेश गर्न सक्छन् । राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम, साधारण र विशेष गरी तीन प्रकारका पुनर्कर्जाका लागि प्रस्ताव मागेको छ ।

लघु, घरेलु तथा साना उद्यमलाई प्रति ग्राहक १५ लाखसम्म र बैंक तथा वित्तीय संस्थालाई दिइने विशेष र साधारण पुनर्कर्जा ५ करोड रुपैयाँसम्मको हुनेछ ।

पुनर्कर्जाको ब्याज ३ देखि ५ प्रतिशतसम्म हुनेछ । यसरी प्राप्त हुने पुनर्कर्जाबाट बैंक तथा वित्तीय संस्थाले कोभिडनाइन्टिनबाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रमा थप कर्जा प्रवाह गर्नुपर्नेछ ।

राष्ट्र बैंकले पर्यटन, हवाइ तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्टी प्यालेस, सिनेमा क्षेत्र, रोजगारी गुमेका वा बिदामा बसेका श्रमिक, मेनपावर कम्पनीलाई अति प्रभावित मानेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *