समाज

सधैं चुनावी नारा बन्यो तर बनेन पुल (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ११ गते २०:३१
सधैं चुनावी नारा बन्यो तर बनेन पुल (भिडियोसहित)

११ असोज, २०७७, रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाको शरनटाँडी गाउँका बासिन्दा खोलामा पक्की पूल नबन्दा वर्षौंदेखि वर्षायाममा समस्या झेल्न बाध्य छन् । देवदह–६ को शरनटाँडी गाउँ पुग्ने बाटोमा पर्ने शरन खोलामा पक्की पुल नहुँदा वर्षायाममा आवतजावत नै ठप्प हुने गरेको हो ।

वर्षायाम शुरु भएसँगै शरन खोला हुँदै सवारी साधन चल्न नसक्दा गाउँबाट विरामी हुँदा उपचार गर्न वा बजारमा सामान किनमेलका लागि आवतजावत गर्नै समस्या हुने गरेको छ । राजमार्गबाट उत्तरतर्फ डेढ किलोमिटर दूरीपछि शरन खोला बग्छ ।

खोलादेखि उत्तरतर्फ चुरे वन क्षेत्रमा २०२८ सालभन्दा अगाडिदेखि वस्ती बसेको शरनटांडी गाउँ छ । वर्षा नहुदा खोला तरेर आवत जावत गर्ने गाउंलेहरु खोला बढेका बेला जस्तोसुकै आपत र समस्या आइपरेपनि अस्पताल वा बजारसम्म आउन सक्दैनन् ।

गाउँमा केही प्राकृतिक विपत्ति भइहाल्यो भने प्रहरी–प्रशासन पनि जान सक्ने अवस्था छैन । गाउँमा प्रावि तहको विद्यालय मात्र भएकाले माथिल्लो कक्षा पढ्न अन्यत्र जानुपर्ने विद्यार्थीहरु वर्षायाममा टाढा र अपायक ठाउंमा रहेको झोलुंगे पुलको बाटो हुंदै जानुपर्ने बाध्यता छ । गाउँमा ६ देखि ७ सयको जनाको बसोबास छ । पञ्चायतकालदेखि चुनावमा सबैले खोलामा पक्की पूल बनाइ दिन्छु भन्दै भोट माग्दै आए तर अहिलेसम्म कसैले बनाइ दिएनन ।

शरनटाँडी गाउँलाई देवदह नगरपालिकाले अर्गानिक तरकारी उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ । तर पूल नहुँदा वर्षायाममा उत्पादन हुने तरकारी विक्रि गर्न पनि कठीन छ ।

मगर समुदायको नमूना वस्ती भएकाले शरनटाँडीमा होम स्टे सञ्चालन गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने राम्रो संभावना छ । तर पनि पक्की पूल नबन्दा गाउँको विकास नै पछाडि परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *