आर्थिक

कैलालीको घोडाघोडी तालमा पर्यटकको रौनक (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १० गते १६:५०
कैलालीको घोडाघोडी तालमा पर्यटकको रौनक (भिडियोसहित)

१० असोज, २०७७, कैलाली । विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटक बढ्न थालेका छन् ।

घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी प्रवर्द्धनको काम थालेपछि पर्यटक बढिरहेका छन । वार्षिक ८० हजार भन्दा बढी पर्यटक घोडाघोडी पुग्ने गरेका छन् ।

विश्व रामसार सूचिमा कैलालीको घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दर स्थल हो । पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्ने धेरै जसो घोडाघोडी पुग्छन । नाम मात्र सुनेका पर्यटकको पनि यसले ध्यान खिचेको छ ।

करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १ सय ३८ हेक्टर छ । ताल वरिपरिका अन्य १३ वटा ससाना ताल सहित घोडाघोडी सिमसार क्षेत्रको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर छ ।

वरिपरिका अन्य १३ वटा ससाना ताल सहितको घोडाघोडी क्षेत्रको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर छ । तालक्षेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ । घोडाघोडी ताल हेर्न र मन्दिरको दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन ।

घोडाघोडी दुर्लभ वनस्पति र चराका प्रजाति संरक्षित क्षेत्र पनि हो । त्यस्तै रैथाने प्रजातिका दर्जनौँ माछा, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन स्थल समेत बनेको छ घोडाघोडी ताल ।

ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जङ्गली धानसमेत पाइन्छ । घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका गोही, ७ प्रजातिका घस्रिने जन्तु, ४५० भन्दा बढी प्रजातिका वनस्पति छन् ।

घोडाघोडी नगरपालिकाले यसको संरक्षण सम्वद्धनका लागि पर्यटन बोर्ड गठन गरेर काम गरिरहेको छ । यो क्षेत्रमा बढी भन्दा बढी पर्यटक भित्राउन नगरपालिकाले गुरुयोजना बनाएको छ ।

सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ । घोडाघोडी घुम्न पर्यटकलाई कुनै असुविधा हुँदैन ।

घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटल सञ्चालनमा छन । गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकहरूका लागि माघी गाउँमा होमस्टे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *