आर्थिक

सामान ल्याउन नसक्दा दशैं बजार प्रभावित, व्यापार घट्ने व्यवसायीको चिन्ता

हिमालय टिभी
२०७७ असोज १० गते १४:२८
सामान ल्याउन नसक्दा दशैं बजार प्रभावित, व्यापार घट्ने व्यवसायीको चिन्ता

१० असोज, २०७७ काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो ।

पछिल्लो एक महिनायता बजार खुलाइएपनि पर्याप्त मालवस्तु नहुँदा व्यापार शून्य रहेको व्यवसायीहरुको गुनासो छ । खासगरी चीनतर्फको केरुङ नाकाबाट मालवस्तु ल्याउन नसक्दा सामग्री अभाव भएको व्यवसायीहरु बताउँछन् ।

चाडपर्व नजिकिँदै छ । व्यापारको मुख्य सिजन पनि चाडपर्व नै हो । दशैं तिहारजस्ता ठूला चाडपर्वको समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा छ । त्यसैले यो समयमा लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्री लगायतका वस्तुहरुको आयात पनि धेरै नै गरिएको हुन्छ ।

तर यस वर्ष कोभिड १९ संक्रमण जोखिमका कारण चीनतर्फको केरुङ नाकाबाट कुनैपनि सामग्री भित्रिन सकेको छैन् । जसको असर काठमाडौं लगायत देशका ठूला बजारमा पर्ने देखिएको छ ।

बजारका व्यापारीहरु पनि मालवस्तु नभएका कारण व्यापार बढाउन नसकिएको उनीहरुको गुनासो छ । खासगरी लत्ताकपडा चीनतर्फबाट सबैभन्दा धेरै आयात हुन्छ । तर यस वर्ष आयात गरिएको समान पनि केरुङ नाकामै रोकिँदा पुरानै स्टक सामग्री मात्रै विक्री गर्नुपरेको व्यवसायीहरुले बताएका छन् ।

बजारमा प्रयाप्त सामग्री नहुँदा बजार भाउपनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा पनि व्यवसायीहरु छन् । काठमाडौंको न्यूरोड, असन, भोटेबहाललगायतका क्षेत्रमा पुग्दा व्यवसायीहरुले अहिलेको सिजन लत्ताकपडा विक्रीका लागि मूख्य सिजन भए पनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको बताएका छन् ।

चीन तर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडो सिजनका कपडाको अभाव हुनसक्ने पनि उनीहरुले बताए । व्यापार नै कम हुने भएपछि कसरी लगानीलाई सुरक्षित गर्ने र कसरी पसलको भाडा तिर्ने भन्ने चिन्तामा पनि व्यवसायीहरु छन् ।

नेपालमा कोभिड १९ संक्रमणको जोखिम बढदै जाँदा व्यवसायीहरुले चीनबाट केरुङ नाका हुँदै समान आयात गर्न सकेका छैनन् । केरुङ नाकामा आएका १ हजारभन्दा बढी कन्टेनर पनि रोकिएका छन् । त्यसको असर नेपाली बजारमा देखिएको हो ।

व्यवसायीहरुले सामान छुटाउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन् । कन्टेनरहरु छुटाउन नसके बजारमा सामान अभाव हुने र महँगी बढ्न गई व्यापार कम हुने चिन्तामा व्यवसायीहरु छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *