संक्रमण कम हुँदै गएको भनिएको युरोपमा कोरोनाको दोस्रो लहर
९ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण दर कम हुँदै गएको भनिएको युरोपमा अहिले दोस्रो लहर देखा परेको छ ।
बढी प्रभावित भएका युरोपेली मुलुकमा दोस्रो लहर शुरु भएपछि दिनहुँ पहिले भन्दा पनि बढी संक्रमित भेटिन थालेका छन् ।
फ्रान्समा पछिल्लो पटक एकैदिन १६ हजार संक्रमित थपिएका छन् । जुन कोरोना भाइरसको महामारी सुरु भएयताकै उच्च हो । यो महिना फ्रान्समा लगातार रुपमा संक्रमित बढिरहेका छन् ।
यस्तै स्पेनमा पनि पहिलो लहरकै तुलनामा संक्रमण बढेको छ । केही दिन यता त्यहाँ प्रतिदिन १० हजारको हाराहारीमा संक्रमित भेटिइरहेका छन् ।
बेलायतमा पनि दुई दिनयता संक्रमितको संख्या ६ हजारभन्दा माथि छ । रुसमा यो संख्या घटेर एक हजारको हाराहारीमा पुगेको थियो । रुसमा पनि यो महिना संक्रमण लगातार बढिरहेको छ ।
त्यहाँ पछिल्लो पटक दैनिक थपिने संक्रमितको संख्या ७ हजार नाघेको छ । यसअघि पाँच हजारको हाराहारीमा संक्रमित भेटिने गरेका थिए ।
अल्बानिया, चेक गणतन्त्र, बुल्गेरिया, मेन्टेनेग्रो, मेसेडोनिया लगायतका केही देशमा पनि सुरुवातको भन्दा बढी संक्रमण देखिन थालेको छ ।
संक्रमणको दोस्रो लहर देखिन थालेपछि युरोपका देशले बढी संक्रमण भएका सहरमा आंशिक लकडाउन गर्न थालेका छन् । अहिलेसम्म युरोपमा ४६ लाखभन्दा बढी संक्रमित भएका छन् भने दुई लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ । दोस्रो लहरमा मृत्युदर भने कम छ ।
प्रतिक्रिया