आर्थिक

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर दोस्रो साता हुने

हिमालय टिभी
२०७७ असोज ९ गते १७:२३
उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर दोस्रो साता हुने

९ असोज, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रस्तावित साधारणसभा गर्न सरकारले स्वीकृति दिएको छ ।

साधारण सभाका लागि महासंघले मागेको स्वीकृतिमा गृह मन्त्रालयले ‍सहमति दिएको हो । सरकारले स्वीकृति दिएसँगै ६ महिनादेखि रोकिएको महासंघको ५४औं साधारण सभा मंसिरमा गर्न बाटा‍े खुलेको छ ।

चैतमै हुनुपर्ने महासंघको साधारण सभा र नयाँ नेतृत्व चयन प्रक्रिया कोभिड–नाइन्टिनका कारण रोकिएको थियो । पछिल्लो पटक महासंघले मंसिर ११ र १२ गते साधारण सभा गर्ने भन्दै स्वीकृतिका लागि गृह मन्त्रालयमा निवेदन दिएको थियो ।

गृह मन्त्रालयले विद्युतीय माध्यमबाट स्वास्थ्य मापदण्ड र सामाजिक दूरी पालना गर्दै एक पटकमा २५ जनाभन्दा बढी भेला नहुने गरी स्वीकृति दिएको हो ।

सरकारले कोभिड–नाइन्टिनको संक्रमण बढ्दै गएपछि २५ जनाभन्दा बढीलाई भेला हुन रोक लगाएको छ । यसै कारण महासंघको साधारण सभा चैत, जेठ, साउन हुँदै मंसिरसम्मलाई सर्दै आएको छ ।

गृह मन्त्रालयको स्वीकृतिसँगै अब भने महासंघमा चुनावी माहोल तातिने देखिएको छ । महासंघको विधान अनुरुप आगामी साधारणसभा पश्चात वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्रतिस्पर्धामा हुनुहुन्छ । गृहले स्वीकृति दिए पनि कोरोना भाइरस संक्रमण अत्यधिक बढेमा भने साधारण सभा फेरि सर्न सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *