समाज

धनगढी मालपोतमा सेवाग्राहीको भिड, न भौतिक दूरी न सुरक्षाका मापदण्ड (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ७ गते १७:५७
धनगढी मालपोतमा सेवाग्राहीको भिड, न भौतिक दूरी न सुरक्षाका मापदण्ड (भिडियोसहित)

७ असोज, २०७७, कैलाली । कैलालीका मालपोत कार्यालयमा पहिलेभन्दा बढी भिड हुन थालेको छ । कार्यालयमा सरकारले बनाएका सुरक्षा मापदण्ड पालना नहुँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा यतिबेला भिड छ । असोज १ गतेबाट मालपोत कार्यालयको काम शुरु भएको छ । सरकारले स्वास्थ्य शुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय संचालन गर्न भनेको छ । तर यहाँ त्यसको कुनै पालना भएको छैन ।

सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशको मुख्य सहर धनगढीमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेको छ । तर यो भिड हेर्दा कसैलाई कोरोनाको डर देखिदैन । कार्यालयले मापदण्ड नबनाएको सेवाग्राहीको गुनासो छ ।

मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, नत सेनिटाइजर कै व्यवस्था गरेको छ । सेवाग्राही पनि मास्कसमेत नलगाई लाइनमा कोचिएर उभिएका छन् । यस्तो भिडले पाँच महिनासम्म लकडाउन र त्यसपछिका निशेधाज्ञा केका लागि थियो ? भन्ने प्रश्न उठेको छ ।

लकडाउन र निशेधाज्ञाका कारण लामो समय काम रोकिएपछि अहिले भिड बढेको हो । आम नागरिकमा कोरोनाको डरभन्दा पनि कामकै चिन्ता देखिएको छ । कार्यालयका अधिकारी भिडभाड व्यवस्थापन र सामाजिक दूरी कायम गराउन खोजे पनि संभव नभएको बताउँछन् ।

कैलालीमा पछिल्ला केही बर्षमा पहाडी जिल्लाबाट बसाईसराई आउनेको संख्या चार गुणाले बढेको छ । त्यसैले जग्गा किनबेच, रोक्का, फुकुवा जस्ता कामको चाप पनि बढेको छ । तर यसरी सरकारले बनाएको मापदण्ड पालना नगरी कार्यालय संचालन गर्दा कोरोना संक्रमण झन फैलने संभावना देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *