आर्थिक

कर्णाली प्रदेश सरकारले अब कृषि ऋण दिने (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ६ गते १८:०५
कर्णाली प्रदेश सरकारले अब कृषि ऋण दिने (भिडियोसहित)

६ असोज, २०७७, सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ । सरकारले कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन गरी किसानको रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याएको हो ।

अघिल्ला वर्षहरुमा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपालनको क्षेत्रमा विभिन्न शीर्षकमा किसानलाई अनुदान वितरण गर्दै आएको थियो ।

त्यस्ता अनुदान वास्तविक किसानभन्दा अधिकांश पहुँचवाला र गैरकिसानले पाउने गरेको भन्दै आलोचना हुने गरेको थियो । अनुदान दुरुपयोग हुने गुनासो आएपछि कृषि ऋणमा ब्याज अनुदान लागु गर्न लागिएको हो ।

सरकारले चालु आर्थिक वर्षमा सात करोड रुपैयाँ विनियोजन गरिएको छ । बढीमा एक करोड रुपैयाँ ऋण लिने किसानका लागि सात प्रतिशतसम्म ब्याज प्रदेश सरकारले नै तिरिदिने छ ।

विपन्न वर्गका किसानका लागि लक्षित वर्ग विशेष अनुदान, मध्यम तथा ठूला किसानका लागि ब्याज अनुदान, निम्न र निम्न मध्यम किसानका लागि सहुलियत कर्जा र प्रोत्साहन अनुदान उपलब्ध गराउने कृषि मन्त्रालयले व्यवस्था गरेको छ ।

ब्याज अनुदान लिन किसानले अनिवार्यरूपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ । त्यस्तै १० लाख रुपैयाँभन्दा बढी ऋण लिनुपरे व्यवसायको विस्तृत परियोजना तयार गरेर पेस गर्नु पर्ने लगायतका सर्तहरु राखिएको छ ।

मन्त्रालयले यो आर्थिक बर्षमा कृषि तथा पशुपालन गर्ने ५ देखि ७ सयसम्म किसानलाई व्याज अनुदान दिनेछ । त्यसको लागि कर्णाली प्रदेशमा रहेका विभिन्न बैंकहरुले १ अर्ब कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *