आर्थिक

आन्तरिक हवाई सेवा शुरु भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

हिमालय टिभी
२०७७ असोज ५ गते १८:२९
आन्तरिक हवाई सेवा शुरु भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

५ असोज, २०७७, पोखरा । लामो समयदेखि बन्द आन्तरिक हवाई उडान शुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन् ।

कोरोना महामारीका कारण जारी भएको लकडाउनपछि बन्द रहेको आन्तरिक हवाई सेवा शुरु भएसँगै व्यवसायीहरु खुसी भएका हुन् । सरकारले गत चैत ११ गतेबाट देशभर लकडाउन जारी गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो ।

४ महिना लामो लक डाउन खुलेपनि आन्तरिक हवाई सेवा सञ्चालन नहुँदा पर्यटन व्यवसाय सञ्चालन हुन सकेको थिएन । असोज ५ गतेबाट हवाई सेवा शुरु भएसँगै पर्यटन व्यवसायले गति लिने विश्वास व्यवसायीहरुको छ । आन्तरिक उडानले व्यवसाय सञ्चालनमा उत्साह थपेको पोखराका पर्यटन व्यवसायी हरि भुजेलले बताउनुभयो ।

तर केही पर्यटन व्यवसायीलाई मात्रै फाइदा पुग्ने गरी एयरलाइन्सहरुले उडान प्याकेज घोषणा गरेको प्रति भने उहाँले आपत्ति जनाउनुभयो । त्यसले पर्यटन क्षेत्रलाई नभएर एक, दुई जना व्यवसायीलाई मात्रै फाइदा पुग्ने उहाँले बताउनुभयो ।

अर्का पर्यटन व्यवसायी सूर्य भुजेलले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने अवस्था अझै नभएपनि सरकारीस्तरबाट सकारात्मक सहयोग हुनुपर्ने बताउनुभयो ।

कास्की पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो । पर्यटकीय गन्तव्यहरुको संरक्षण गर्दै कोरोनासँग जोगिने र जोगाउँदै अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न सके २ वर्षभित्रमा लकडाउन अघिकै अवस्थामा पुग्न सकिने उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ ।

विमान सेवा प्रयोग गर्ने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफु स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने छ । नयाँ व्यवस्था अनुसार उडान सयमभन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोल र अत्यावश्यक सामान मात्र लैजान पाइनेछ । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले आजबाट सेवा सुरु गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *