समाज

किट अभावका कारण भरतपुर अस्पतालमा कोरोना परीक्षण प्रभावित

हिमालय टिभी
२०७७ असोज ५ गते १३:२७
किट अभावका कारण भरतपुर अस्पतालमा कोरोना परीक्षण प्रभावित

५ असोज, २०७७ काठमाडौं । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा आरटी पीसीआर किट अभाव भएपछि कोरोना परीक्षणको काम प्रभावित भएको छ ।

किट नहुँदा दुई दिनदेखि ल्याबको काम प्रभावित भएको भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर युवानिधि बसौलाले जानकारी दिनुभयो ।

मन्त्रालयसँग किट माग गरेको भए पनि माथि नै अभाव भएको भन्दै किट नपाएको उहाँले जानकारी दिनुभयो । अस्पतालले आकस्मिक रुपमा परीक्षण गर्नुपर्ने किट खरिदका लागि कोटेसन आह्वान गरेको डाक्टर बसौलाले बताउनुभयो ।

पाँच लाखभित्र सिधा खरिद गर्न पाउने नियम अनुसार किटका लागि कोटेशन माग गरिएको अस्पतालका स्टोर प्रमुख केशव सापकोटाले जानकारी दिनुभएको छ ।

प्रयोगशालामा आएनए एक्ट्याक्सन किट भने रहेको छ । यसअघि पनि दुई दिन किट अभावमा भरतपुर प्रयोगशालाको काम प्रभावित बनेको थियो । प्रयोगशालामा दैनिक औसत तीन सय नमूना परीक्षण हुँदै आएको छ ।

यस्तै चितवन मेडिकल कलेज (सीएमसी) ले सञ्चालन गरेको कोरोना परीक्षण प्रयोगशालामा प्राविधिक समस्या आएको छ । प्रयोगशालामा आएको प्राविधिक समस्याले तीन दिनदेखि कोरोनाको नमूना परीक्षण रोकिएको प्रयोगशाला प्रमुख सञ्जय शाहले जानकारी दिनुभयो ।

आवश्यक मर्मत लगायतका काम भैरहेको जानकारी दिँदै भोलिदेखि प्रयोगशालालाई नियमित रुपमा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *