आर्थिक

धनकुटामा ड्रागन फलको खेती फस्टाउँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ४ गते १४:१९
धनकुटामा ड्रागन फलको खेती फस्टाउँदै (भिडियोसहित)

४ असोज, २०७७, धनकुटा । पछिल्लो समय धनकुटामा नयाँ र आगन्तुक फलको खेती गर्ने क्रम बढ्दो छ । एभोकाडो, किबी फल लगायतका नयाँ प्रजातीसँगै धनकुटामा ड्रागन फल पनि भित्रिएको छ । केही समयअघि मात्र नेपाल भित्रिएको ड्रागन फलको धनकुटामा खेती गर्न थालिएको हो ।

धनकुटा नगरपालिका वडा नम्वर ८ सान्ताङ्गका किसान अमर राइले दक्षिण अमेरिकामा लोकप्रिय ड्रागन फलको खेती सुरु गर्नु भएको छ । १४ वर्षअघि वैदेशिक रोजगारीमा साउदी अरब गएका बेला ड्रागन फल खेती देखेका राईले त्यतिबेलै यसबाट आम्दानी गर्न सकिने टुंगोमा पुग्नुभएको थियो ।

तर उहाँले गत बर्षबाट मात्रै १२ रोपनी जग्गामा खेती सुरु गर्नुभयो । राईले धनकुटा नगरपालिकाले दिएको केही विरुवा तथा काभ्रे र झापाबाट विरुवा ल्याई खेती गरिरहनुभएको छ । ड्रागन फलका केही बिरुवाले उत्पादन दिन थालेका छन् । त्यस्तै विरुवा विक्रीवाट मात्रै एकै बर्षमा उहाँले अढाई लाख रुपैंया आम्दानी गरिसक्नु भएको छ ।

ड्रागन फलको विरुवाले रोपेको ३ वर्षदेखि फल दिन थाल्छ । एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ । यसको फल बजारमा प्रतिकिलो ६ सय रुपैयाँसम्ममा बिक्रि हुने गरेको छ ।

क्याक्टस प्रजातिको यो फल रुखोपाखो बारीमा समेत राम्रोसँग खेती गर्न सकिन्छ । १४ प्रकारका मिनरल्स तथा भिटामिन पाइने भएकाले स्वास्थ्यलाइ धेरै फाइदा पुर्‍याउने यसका जानकार बताउँछन् ।

ड्रागन फलको खेती, बारी तथा कौशीमा समेत गर्न सकिन्छ । नेपालमा यसको ठूलो बजार रहे पनि उत्पादन भने न्युन रहेको विज्ञ बताउँछन । भर्खरै मात्र नेपाल प्रवेश गरेको यो फललाई धेरै नेपालीले चाख्न समेत पाएका छैनन । यो फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जेली जाम, जुस, वाइन, आइसक्रिम, मञ्जन लगायत उत्पादन समेत गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *