आर्थिक

कृषि प्राविधिककै सल्लाहमा लगाएको धानमा लागेन बाला, किसान चिन्तित (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ३ गते २०:४४
कृषि प्राविधिककै सल्लाहमा लगाएको धानमा लागेन बाला, किसान चिन्तित (भिडियोसहित)

३ असोज, २०७७ , धनगढी । कृषि प्राविधिककै सल्लाहमा लगाएको बहुगुणी–२ जातको धानमा अहिलेसम्म पनि बाला नलागेपछि कैलाली र कञ्चनपुरका किसान चिन्तामा छन् । अन्य जातको धान लगाएका वरिपरिका खेतमा बाला झुलिसक्दा पनि बहुगुणी –२ जातको धान रित्तै छ ।

कैलाली र कञ्चनपुरमा गत वर्ष पनि कृषि प्राविधिककै सल्लाहमा गरिमा जातको धानको बिउ लगाएका थिए । त्यो वर्ष गरिमा जातको धानको बिउ लगाएका हजारौं किसान मर्कामा परेका थिए ।

यो वर्ष अलि फरक जातको धान लगाएका गौरीगंगा नगरपालिका वडा नम्बर ९ का किसान फेरि त्यस्तै नियति दोहोरिने हो की भन्ने चिन्तामा छन । गरिमाको विकल्पमा ‘बहुगुणी–२’ धान खेती लगाए पनि अहिलेसम्म बाला लागेको छैन ।

आफ्नो खेतमा खेती गर्ने किसान भन्दा अरुको जग्गा ठेक्कामा लिएर खेती गरेका किसान दोहोरो मारमा परेका छन । कृषि शाखाले दिएको बिउ राम्रो नहोला कि भनेर शंका नै गरिए पनि अहिले सरकारबाट नै ठगिनु परेको किसानको गुनासो छ ।

गौरीगंगामा मात्रै होइन, घोडाघोडी नगरपालिकामा पनि सयौँ किसानहरूले अहिलेसम्म धानमा बाला नलागेको गुनासो गरेका छन् । थोरै जग्गामा अनुदानको धानको बिउ लगाएका किसानलाई अब यो वर्ष के खाने भन्ने पीर परेको छ ।

स्थानीय तहका कृषि शाखाले भने अरू धानभन्दा केही समय ढिलो फल्ने भएको हुँदा बाला नलागेको दावी गरिरहेका छन् । बहुगुणी–२ जातको धान कैलालीको माटो सुहाउँदो र हावापानी सुहाउँदो भएका कारण किसानले चिन्ता लिनु नपर्ने प्राविधिको दाबी छ ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धानमा बाला नलागेको बिषयमा छलफल भइरहेको जनाएको छ । किसानले कैलाली र कञ्चनपुरमा प्राय ११५ देखि १२० दिनमा फल्ने धान लगाइरहेका छन् । कैलाली–कञ्चनपुरमै उन्नत जातको भनेर तयार गरिएको बहुगुणी–२ मा अझैसम्म बाला नलाग्दा यस पटक उत्पादन घट्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *