आर्थिक

अर्थतन्त्र शिथिल बनेका बेला अर्थमन्त्री खोइ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३१ गते २०:२३
अर्थतन्त्र शिथिल बनेका बेला अर्थमन्त्री खोइ ? (भिडियोसहित)

३१ भदौं, २०७७ काठमाडौं । कोरोना महामारीको कारण अर्थतन्त्र शिथिल बनेको छ । लाखौँले रोजगारी गुमाएका मात्र छैनन् दैनिक गुजारा गर्न‍ नागरिकलाई सकस छ ।

सरकारलाई पनि स्रोत व्यवस्थापनमा समस्या छ । तर यस्तो संवेदनशिल समयमा निकै महत्वपूर्ण भूमिका रहने अर्थमन्त्रालय भने नेतृत्वविहिन जस्तै भएको छ ।

बुधबार सार्क राष्ट्रका अर्थमन्त्रीको १५औँ अनौपचारिक भर्चुअल बैठक बस्यो । सार्क राष्ट्रको अर्थतन्त्रमा कोभिड–१९ ले पारेको असरबारे छलफल गर्दै साझा संयन्त्र परिचालन गर्ने उद्धेश्यले बसेको बैठक महत्वपूर्ण थियो ।

तर सार्कको अध्यक्ष समेत रहेको नेपालको तर्फबाट अर्थतन्त्रको अवस्था र सार्कका अन्य सदस्य राष्ट्रसँगका अपेक्षाबारे कुरा राख्न अर्थमन्त्री भने थिएनन् । डा. युवराज खतिवडाको राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय आफैंसँग राख्नुभएको छ । तर मन्त्रीस्तरीय छलफलमा प्रधानमन्त्री सहभागी हुनु शोभनीय नहुने भएकाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रतिनिधित्व गराइयो ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । विभिन्न दातृ निकाय, संघीय मन्त्रालय, प्रदेश तथा स्थानीय सरकार लगायतका महत्वपूर्ण निकायले दैनिक जसो खोज्ने अर्थमन्त्रालयमा विभागीय मन्त्री नहुँदा नकारात्मक प्रभाव परिरहेको छ ।

मन्त्री नभएकै कारण दर्जनौ फाइल अर्थमन्त्रालयमा अड्किएका छन् । अझ कोभिड–१९ ले अर्थतन्त्र शिथिल बनेको संवेदनशिल समयमा अर्थमन्त्रालय हाक्ने मन्त्री नहुँदा थप असर पर्ने देखिएको छ ।

कोभिड–१९ का कारण लक्ष्यअनुरुप न त राजस्व उठेको छ न त खर्च नै हुन सकेको छ । निषेधाज्ञा खुकुलो बनाइएपनि धेरैजसो उद्योग(कलकारखाना बन्द छन् भने सबैजसो व्यापार व्यवसाय प्रताडित छन् ।

देशमा लाखौँले रोजगारी गुमाएका मात्र छैनन्, दुई छाक खान सक्ने आधार नभएकै कारण खुलामञ्जजस्ता क्षेत्रमा खानाको आशमा मानिस लाइनमा बस्न बाध्य छन् । यससँगै अर्थतन्त्रका अधिकांश सुचांक नकारात्कमक छन् ।

यस्तो संवेदनशिल अवस्थामा अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न रातदिन लागिपर्नु पर्ने विभागीय मन्त्रालय खाली राख्दा पर्ने असरको सबै जिम्मा प्रधानमन्त्रीले नै लिनुपर्ने प्रमुख प्रतिपक्षी दलको निष्कर्ष छ ।

कार्यव्यस्तताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यलयका सबै काम भ्याउन हम्मे(हम्मे पर्छ । कमजोर स्वास्थ्यका बाबजुद अझ दर्जनौँ निकायको बैठक आफैंले अध्यक्षता गर्नैपर्ने बाध्यता प्रधानमन्त्री ओलीसँग छ ।

त्यसैले प्रधानमन्त्री ओलीले आफैंसँग राख्नुभएका सञ्चार र अर्थ मन्त्रालयको दैनिक कार्य हेर्न असम्भव छ । त्यसैले कोभिड-१९ ले शिथिल बनाएको अर्थतन्त्रलाई उकास्न सक्ने क्षमता भएको व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मेवारी दिनु नै प्रधानमन्त्रीका लागि उपयुक्त हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *