विदेश

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने

हिमालय टिभी
२०७७ भदौ २९ गते १४:३६
योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने

२९ भदौ, २०७७, टोक्यो । योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपीले योशिहिदेलाई संसदीय दलको नयाँ नेता बनाउने निर्णय गरेको हो ।

सत्तारुढ पार्टीको नयाँ नेतामा चयन भएसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

सत्तारुढ दलका सांसदबीच भएको मतदानमा सुगा स्पष्ट मतसहित संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पूर्वविदेशमन्त्री फुमियो किशिदा उनका प्रतिद्वन्द्वी थिए ।

सुगाले ३ सय ७७ मत पाउँदा किशिदाले ८९ र इशिबाले ६८ मत प्राप्त गरे । बुधबार जापानको संसदमा प्रधानमन्त्रीका लागि मतदान हुनेछ ।

जापानको संसदमा सत्तारुढ एलडीपीको बहुमत रहेकाले सुगाका लागि मतदान औपचारिकता मात्रै हुनेछ । गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । सुगा आबेका नजिकका सहयोगी हुन् ।

उनले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने सम्भावना रहेको जनाइएको छ ।नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *