आर्थिक

दाङमा मेवा खेतीः उत्पादन गर्ने किसान र उपभोक्ता दुवै दङ्ग (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २७ गते २०:५७
दाङमा मेवा खेतीः उत्पादन गर्ने किसान र उपभोक्ता दुवै दङ्ग (भिडियोसहित)

२७ भदौ, २०७७ दाङ । दाङको नारायणपुरमा दुई जना किसानले मेवा खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । दाङका उपभोक्ताले पनि आफ्नै गाउँमा फलेको मेवा रुचाएका छन् ।

दाङको सिद्धरत्ननाथ मावि, नारायणपुरको कहिल्यै खेती नभएको बञ्जर डाँडोमा अहिले लटरम्म मेवा फलेका छन् । वकिल पेशा गर्ने कुलबहादुर डाँगी र शिक्षण पेशा गरी बैदेशिक रोजगारीमा धेरै वर्ष बिताएका तुलसीराम केसीले संयुक्त लगानीमा साढे दुई विघा जमिनमा ‘रेड लेडी’ जातको मेवा खेती थाल्नु भएको हो । एक वर्ष अघि रोपेको मेवा अहिले फल्न थालिसकेको छ ।

एउटा मेवाको बोटले वषर्षमा कम्तिमा ५० र बढीमा एक सय किलोसम्म फल दिने र एउटै बोटमा ४ वर्षसम्म मेवा फल्छ । यहाँ फलेका मेवा अहिले दाङकै बजारमा विक्री भइरहेको छ । उत्पादन धेरै भए देशका मुख्य मुख्य शहर र संघीय राजधानी काठमाडौंसम्म बजार विस्तार गर्ने योजना छ ।

खेती शुरु गर्दा तुलसीराम र कुलबहादुरसँग तीतो अनुभव छ । धेरैले खेती त शुरु गरिहाल्यौ मेवा फल्दा पनि फल्दैन, फले पनि विक्री हुँदैन भने । कृषिमा आउने अनुदान पचाउनका लागि मात्रै खेती गरेको आरोप पनि लगाए । तर त्यसरी प्रश्न गर्नेहरुले अहिले जवाफ पाएका छन् ।

बजारमा कम विक्री हुने फलफूल ठानिने मेवालाई दंगाली उपभोक्ताले रुचाएका छन् । ५० रुपैयाँ प्रतिकिलोमा मेवा धमाधम विक्री भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *