आर्थिक

मूल नहरमा पानी चलेपछि किसान उत्साही, शाखा नहर नबन्दा हजारौ किसान मर्कामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २७ गते १६:१४
मूल नहरमा पानी चलेपछि किसान उत्साही, शाखा नहर नबन्दा हजारौ किसान मर्कामा (भिडियोसहित)

२७ भदौ, २०७७, नेपालगञ्ज । सिक्टा सिंचाइ आयोजनाको मुल नहरमा धान खेतीको सिजन भरी नै पानी चले पछि बाँकेका किसान उत्साहित छन् ।

बैशाख १ गतेदेखि नै सिक्टा सिंचाइ आयोजनाले किसानको माग अनुसार पश्चिमी मुल नहरमा ३ देखि ४ क्युसेक पानी संचालन गर्दै आएको छ । मूल नहरमा पानी छाडिए पनि शाखा र प्रशाखा नहर नबन्दा हजारौं किसान सिंचाइ सुविधाबाट बन्चित छन् ।

निर्माण कम्पनीको बदमासी, प्राविधिक तथा दक्ष कर्मचारी अभावका कारण सिक्टा सिंचाइ आयोजनाको ७ वटा शाखा र ५० भन्दा बढी प्रशाखा नहर बनेका छैनन् । मूल नहर बनेको दुई बर्ष बितिसके पनि किसानको खेतसम्म पानी पुर्‍याउन करिब १ सय किलोमिटर शाखा र प्रशाखा नहर निर्माणमा ढिलाइ हुँदा अझै २० हजार हेक्टर जग्गामा सिंचाई सुविधा पुग्न सकेको छैन ।

किसानको खेतबारीमा बर्षैभरी भरपर्दो सिंचाइ सुविधा दिने लक्ष्यका साथ सिक्टा आयोजनाले मूल नहर मर्मत गर्दै पानी चलाउँदै आएको छ । गत वर्षको हिउँददेखि नै आयोजनाले भत्किएको नहरको प्यानल र घुलनशील माटोका कारण प्वाल परेको स्थानमा मर्मत गरेर पानी छाडिएको छ । यसबाट डुडुवा, कोहलपुर र नेपालगन्ज क्षेत्रको करिब १५ हजार हेक्टरमा धान खेतीका लागि किसानले पानी पाएका छन् ।

बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिंचाइ पुर्‍याउने उद्देश्यले १४ वर्ष अघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा आयोजना २०७० माघसम्म पूरा हुने लक्ष्य राखिएको थियो ।

तर निर्माण सम्पन्न हुनुपर्ने अवधि सकिएको ७ बर्ष बितिसक्दा पनि ६५ प्रतिशत मात्रै काम भएको छ । आयोजना शुरु हुँदा १२ अर्ब ७० करोडको लागतमा नहर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि अहिलेसम्म १७ अर्ब भन्दा बढि खर्च भई सकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *