आर्थिक

बाढीपहिरोले ३ अर्ब भन्दा बढीको क्षति : ११ सडकखण्ड अझै अवरुद्ध (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २७ गते ६:२०
बाढीपहिरोले ३ अर्ब भन्दा बढीको क्षति : ११ सडकखण्ड अझै अवरुद्ध (भिडियोसहित)

२७ भदौ, २०७७ काठमाडौं । साउन र भदौमा आएको बाढीपहिरोका कारण राष्ट्रिय राजमार्ग अन्तर्गतका ११ वटा सडकखण्ड अझै अवरुद्ध छन् ।

बाढी पहिरोले क्षती पुर्याएका २ सय २४ सडक खण्डमध्ये १ सय २२ वटा पूर्ण र ९१ वटा एकतर्फीरुपमा सञ्चालनमा आएपनि ११ वटा खण्ड भने अझै बन्द छन् । क्षतिग्रस्त यी सडक मर्मत गर्न मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी रकम लाग्ने प्रारम्भिक अनुमान छ ।

अषाढ लागेदेखि देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोका कारण सडकहरुमा ठुलो क्षति भएको छ । सडक विभागका अनुसार साफेंबगर–मार्तडी सडक अन्तर्गतका ८ वटा खण्ड अझै अवरुद्ध छन् ।

यस सडक अन्तर्गतको बल्दे खण्ड, ताप्रीसेरा खण्ड, वलेना खण्ड र बार्जुगाड–बाम्का खण्ड बन्द छ । यस्तै वलेना–जगडङ्गा खण्ड र अम्कोट–द्धारी खण्डका २ फरक ठाउँ अवरुद्ध छ ।

यस्तै बेसीसहर–चामे सडकको घोप्टेखोला खण्ड पनि बन्द छ । बिमलनगर–थातीपोखरी–दुधपोखरी सडकका विभिन्न खण्ड र शहिदमार्ग अन्तर्गतको घोराही(होलेरी सडकखण्ड समेत अझै सञ्चालनमा आएको छैन् ।

बाढीपहिरोका कारण देशभरका २ सय २४ सडक खण्डमा क्षति पुगेको छ । यसमध्ये विभा‍गले १ सय २२ पुरानै अवस्थामा र ९१ वटा सडक खण्ड भने एकतर्फीरुपमा सञ्चालनमा ल्याएको छ । सबै सडकमा गरेर करिब ३ अर्ब रुपैयाँ बराबरको क्षती भएको विभागको प्रारम्भिक अनुमान छ । कुल क्षतिमध्ये आधा त अरनिको राजमार्गमा मात्रै भएको विभागको अनुमान छ ।

सबै सडकको पुनर्निर्माणका लागि बजेट निकासा गरिदिन विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग माग गरेको छ । यातायातले पनि अर्थ मन्त्रालयसँग बजेट माग गर्ने तयारी गरेको छ । तर यो प्रक्रिया कहिले पुरा हुने र कहिले रकम निकासा हुने टुङ्गो छैन । रकम निकासा भएपछि मात्रै क्षति भएका सडकको पुनर्निर्माण शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *