सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश

२५ भदौ, २०७७ काठमाडौं । विश्व नम्बर तीन अमेरिकी खेलाडी सेरेना विलियम्स युएस ओपनको सेमिफाइनल प्रवेश गरेकी छिन् ।
क्वाटरफाइनलमा बुल्गेरियाकी स्वेताना पिरोन्कोभालाई पराजित गर्दै सेरेनाले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । उनले ३२ वर्षकी पिरोन्कोभामाथि ४–६, ६–३ र ६–२ को सेटमा जित निकालेकी हुन् ।
६ पटककी युएस ओपन विजेता ३८ वर्षीय सेरेनाले पहिलो सेट गुमाए पनि त्यसपछिका दुई सेट जितेकी थिइन् । सेरेनाले सेमिफाइनलमा पूर्व विश्व नम्बर एक भिक्टोरिया अजरेन्का र एलिज मर्टेन्सबीचको विजेतासँग खेल्नेछिन् । सेरेना २४ औं ग्राण्डस्लाम जितको कीर्तिमान बराबरी गर्ने दाउमा रहेकी छिन् ।
उता पुरुष एकलतर्फ डानिल मेडभेडेभ सेमिफाइनल पुगेका छन्। तेस्रो बरियताका रुसी खेलाडी मेडभेडेभले आफ्नै देशका एन्ड्री रुब्लेभलाई ७–६, ६–३ र ७६ को सोझो सेटमा पराजित गरे ।
उनले फाइनल प्रवेशका लागि अष्ट्रियाका डोमिनिक थिएम र अष्ट्रेलियाका एलेक्स डी मिनाउरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया