खेलकूद

१३ ‍औं साग: ब्याडमिन्टन खेलका सामग्री खरिदमा अनियमितता, फेरि म्याद थपियो (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २५ गते ६:२६
१३ ‍औं साग: ब्याडमिन्टन खेलका सामग्री खरिदमा अनियमितता, फेरि म्याद थपियो (भिडियोसहित)

२५ भदौ, २०७७ काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा अनियमितता भएको भन्दै राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको छ ।

खेल सामग्री खरीदमा अनियमितता भएको भन्दै चौतर्फी आलोचना भएपछि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा छानविन उपसमिति गठन भएको थियो । २१ दिनको समयमा उपसमितिले काम नसकेपछि उसको म्याद फेरि १५ दिन थपिएको छ । यो समितिले के के गरिरहेको छ त ?

१३ औं दक्षिण एसियाली खेलकुद सागमा ब्याडमिन्टन खेलका लागि चाहिने म्याट र खेलाडीको जुत्ता खरीदमा अनियमितता भएको भन्दै चौतर्फी आलोचना भयो ।

त्यसपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ३० गते राष्ट्रिय खेलकुद परिषदलाई पत्रमार्फत भ्रष्टाचार छानबिन गर्न निर्देशन दिनुभयो । त्यसपछि राखेपले बोर्ड सदस्य समेत रहेका गोबिन्द भट्टराईको नेतृत्वमा उपसमिति गठन गरेर छानविन गरिरहेको छ ।

२१ दिन भित्र प्रतिवेदन बुझाउनु भने पनि राजधानीमा जारी निषेधाज्ञाका कारण काम अझै पूरा भएको छैन । उपसमिति संयोजक भट्टराईले केहीको बयान लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुगेको र थप गरिएको म्यादमा छानविन पुरा हुने बताउनुभयो ।

२१ दिने समय सिमामा भट्टराई नेतृत्वको ५ सदस्यीय उपसमितिले प्रारम्भिक चरणको गृहकार्य सम्पन्न गरेको छ । समय थप भएपछि बयान लिने काम भएको छ ।

केही व्यक्तिसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्न नसकिने र बयान लिनुपर्ने व्यक्तिहरु केही उपत्यका बाहिर भएकाले समय लागेको छ । सहज वातावरण बनेपछि तोकिएको समयमा प्रतिवेदनमा बुझाउने उपसमितिको प्रतिवद्धता छ ।

उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुख कटानको बारेमा पनि छानविन गरिरहेको छ । यो विषयमा पनि छानबिन टोलीलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्