कोरोनाबाट प्रदेश १ को विराटनगरपछि इटहरी र धरान बढी प्रभावित
२४ भदौ, २०७७ विराटनगर । प्रदेश १ मा विराटनगर महानगरपालिकापछि सुनसरीको इटहरी र धरान उपमहानगरपालिका कोरोनाबाट बढी प्रभावित देखिएको छ ।
दिनहुँ यी दुई पालिकामा संक्रमणदर बढेसँगै कोरोनाबाट बढी मात्रामा प्रभावित हुने पालिकामा इटहरी र धरान उपमहानगर रहेका छन् । प्रदेश एकमा बढी जनघनत्व भएको सहर विराटनगर, इटहरी र धरान हुन् ।
पछिल्लो समय तीनवटै सहर कोरोनाको चपेटामा छन् । विराटनगरपछि बढी प्रभावित धरानमा २३२ र इटहरीमा २६१ जना सक्रिय संक्रमित छन् । एक हजार तीन सय १० संक्रमित रहेको विराटनगरमा मृतकको संख्या ११ छ ।
धरानमा ६ जनाको मृत्यु भइसकेको छ । विराटनगरको तुलनामा धरानमा मृत्युदर बढी छ । धरानमा मृत्यु भएका ६ जना नै ६० वर्ष माथिका छन् । शनिबार मोरङमा १५ र सुनसरीमा ५६ संक्रमित भेटिएकामा आइतबार मोरङमा ४७ र सुनसरीमा ७१ जना संक्रमित भेटिएका थिए ।
सोमबार भने मोरङमा ४४ र सुनसरीमा ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार मोरङमा ७६ र सुनसरीमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबारसम्म मोरङमा दुई हजार ६९ र सुनसरीमा एक हजार ८६ जना कोरोना संक्रमित छन् । मोरङमा सबभन्दा बढी संक्रमित विराटनगर महानगरपालिकामा छन् ।
सुनसरीका अधिकांश स्थानीय तहका समुदायस्तरमा कोराना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयकी फोकल पर्सन सिर्जना लिङथेमले बताउनुभयो ।
प्रतिक्रिया