आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिने रुसको तयारी

२४ भदौ, २०७७ मस्को । रुसले आफ्ना नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ ।
रुसले कोरोना भाइरसविरुद्ध विश्वकै पहिलो खोप मानिएको स्पुतनिक फाइभ आफ्ना नागरिकलाई दिने तयारी गरेको हो।
खोपले सबै गुणस्तर परीक्षणलाई पार गरेको र अब यो आम नागरिकलाई दिइने रुसी स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुसले सर्वसाधारणका लागि खोप जारी गरे पनि तेस्रो चरणको क्लिनिकल ट्रायल भने हुन बाँकी रहेको छ ।
दोस्रो चरणको परीक्षणमा यसले मानव स्वास्थ्यमा कुनै असर नपुग्ने र चाँडै एन्टिबडी तयार गर्न सक्षम भएको पाइएको थियो । यसले रोग प्रतिरोधी क्षमता विकासमा सफलता मिलेको दाबी गरिएको थियो ।
उक्त भ्याक्सिन गेमेलिया नेस्नल रिसर्च सेन्टरले उत्पादन गरेको हो । भ्याक्सिन ११ अगष्टमा अनुमोदन गरिएको थियो । यसै हप्ता यसको प्रयोग सर्वसाधारणमा गरिने जनाइएको छ ।
प्रतिक्रिया