आर्थिक

नेपालमा इन्टरनेट प्रयोग झन बढ्दो, नेपालीले के हेर्छन् इन्टरनेटमा ?

हिमालय टिभी
२०७७ भदौ २४ गते ६:१३
नेपालमा इन्टरनेट प्रयोग झन बढ्दो, नेपालीले के हेर्छन् इन्टरनेटमा ?

२४ भदौ, २०७७, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले कुल जनसंख्याको ७२ दशमलव ९८ प्रतिशत जनसंख्याले इन्टरनेट चलाउने देखाएको छ ।

लकडाउन र निषेधाज्ञाका कारण प्रयोगकर्ताले इन्टनेटमा बिताउने समय समेत बढेको छ । संख्या र समय दुबै बढिरहेको बारे धेरैलाई थाहा भएपनि इन्टरनेटमा के कुरा प्रयोगकर्ताले बढी हेर्छन् भन्ने चैं अधिकांशलाई थाहा नहुन सक्छ ।

नेपालमा इन्टरनेट सेवाप्रदायकमार्फत मासिक १ हजार १ सय ५० जीबीपीएस लोकल ब्याण्डविथ खपत हुने गरेको थियो । तर लकडाउन र निषेधाज्ञापछि बढेर १ हजार ५ सय ५० जीबीपीएस पुगेको छ । अर्थात यो बीचमा मात्रै खपत ४ सय जीबीपीएसले बढेको छ ।

सेवा प्रदायकका अनुसार कुल प्रयोगकर्तामध्ये सबैभन्दा धेरैले युटुब हेर्छन । युटुब हेर्नेमा मात्रै मासिक रुपमा ६ सय जीबीपीएस ब्याण्डविथ खपत हुन्छ ।

युटुबपछि सबैभन्दा बढी प्रयोगकर्ता फेसबुकका छन् । फेसबुक प्रयोगमा मात्रै मासिक ३ सय ५० जीबीपीएस ब्याण्डविथ खपत भइरहेको छ । फेसबुकपछि टिकटक नेपालमा हिट छ । टिकटकको १ सय ७५ जीबीपीएस छ भने त्यसपछि नेटफ्लिक्स‍को पालो आउँछ ।

लकडाउनअघि मासिक ३ सय ३४ जीबीपीएस अन्तराष्ट्रिय ब्याण्डविथ खपत हुने गरेकोमा लकडाउनमा बढेर ४ सय १८ जीबीपीएस पुगेको छ । तर निषेधाज्ञा जारी गरिएयता भने अन्तराष्ट्रिय ब्याण्डविथ अझ बढेको छ । निषेधाज्ञायता अन्तराष्ट्रिय ब्याण्डविथ खपत ५ सय ६८ जीबीपीएस नाघेको छ । तर खपत बढेपनि सूचनामुलक भन्दा मनोरञ्जनात्मक सामग्रीमा प्रयोगकर्ता भुलिरहेको सेवाप्रदायको विश्लेषण छ ।

दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको जेठसम्मको तथ्यांक अनुसार २ करोड १८ लाखले इन्टरनेट प्रयोग गर्छन् । यीमध्ये १ करोड ७५ लाख एनटिसी, एनसेल र स्मार्ट टेलिकमका ग्राहक छन् भने ४३ लाख २४ हजार वल्डलिंक, भायानेट लगायतका इन्टरेनट सेवा प्रदायकका ग्राहक छन् ।

इन्टरनेट सेवा प्रदायकमार्फत मात्रै अन्तराष्ट्रिय ब्याण्डविथ खरिदमा मासिक ४५ देखि ५० करोड रुपैयाँ मुलुकबाट बाहिरीने गरेको छ ।कोरोना कहरपछि त यो झन बढेको छ । तर यो मनोरञ्जनात्मक सामग्रीका लागि बढी प्रयोग भैरहेको देखिन्छ । त्यसैले ज्ञानमूलक सामग्रीमा खोज बढे मुलुकबाट वार्षिकरुपमा अर्बौँ रुपैयाँ बाहिरिनुको सार्थकता पनि बढ्ने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *