विदेश

भारत र चीनबीच सीमा क्षेत्रमा पुनः गोली हानाहान

हिमालय टिभी
२०७७ भदौ २३ गते ८:४२
भारत र चीनबीच सीमा क्षेत्रमा पुनः गोली हानाहान

२३ भदौ, २०७७, नयाँ दिल्ली । भारत र चीनबीच सीमा क्षेत्रमा पुनः गोली हानाहान भएको छ ।

गएराति भारत-चीनबीचको विवादित पूर्वीलद्दाखमा भारतले चेतावनी फायरिङ गरेपछि चीनले पनि जवाफी फायरिङ गरेको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएको छ ।

भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारबाही गर्नुपरेको चिनियाँ सेनालाई उदृत गर्दै ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

उता भारतीय समाचार एजेन्सी एएनआइले समेत सीमामा फायरिङ भएको जनाएको छ । दोहोरो फायरिङपछि दुई देशबीच पछिल्लो पटक बनेको सहमतिको गम्भीर उल्लंघन भएको भन्दै तनाव बढ्न सक्ने देखिएको छ ।

उता चीनले यसबाट दुबै पक्षमा असमझदारी बढ्ने र यो कदम सेनालाई उत्तेजित बनाउने कदम भनेको छ । चीनले भारतलाई सीमा क्षेत्रमा यस्ता गतिविधि बन्द गर्न र सीमाबाट सेना फिर्ता लैजान आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

केही दिनअघि भारत र चीनका रक्षामन्त्रीको मस्कोमा भएको छलफलपछि भएको यो घटनाले अब तनाव थप बढ्ने संकेत देखिएको छ ।

त्यस्तै दुई देशबीच सीमा विवाद बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको विवरण सार्वजनिक भएको छ ।

यसैबीच बढ्दो तनावबारे दुई देशका विदेशमन्त्रीबीच छलफलको तयारी भइरहेको छ। सांघाई सहयोग संगठनको बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस जयशंकर रुसको मस्को जाँदै हुनुहुन्छ।

आठ सदस्य रहेका संगठनमा चीन र भारत दुबै सहभागी छन्। यहि भ्रमणका क्रममा जयशंकरले चिनियाँ समकक्षी वांग यी सँग द्वीपक्षीय बैठक गर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

छलफल यही सेप्टेम्बर १० तारिखमा हुन सक्ने बताइएको छ । गलवान सीमानामा गत जूनमा भएको दोहोरो झडपमा २० भारतीय सैनिक मारिएपनि चिनियाँ सैनिकको हताहती बारे केही प्रष्ट भएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *