विदेश

भारतमा कोरोना संक्रमण बढ्दो, एकैदिन ७५ हजार बढी संक्रमित

हिमालय टिभी
२०७७ भदौ २३ गते ८:०२
भारतमा कोरोना संक्रमण बढ्दो, एकैदिन ७५ हजार बढी संक्रमित

२३ भदौ, २०७७ काठमाडौं । भारतमा केही दिन यता दैनिक कोरोना संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७५ हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको हो । यो संख्या अघिल्लो दिनको तुलनामा भने कम हो । आइतबार त्यहाँ विश्वमै एकैदिन सबैभन्दा धेरै ९१ हजार ७ सय २३ जनामा संक्रमण भएको थियो ।

संक्रमित सूचिमा दोस्रो स्थानको भारतमा कोरोना संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । पछिल्लो समय अन्य देशमा संक्रमित संख्या घट्दा भारतमा भने बढ्ने क्रममा रहेको छ ।

त्यस्तै त्यहाँ हालसम्म ३३ लाख बढी संक्रमणमुक्त भैसकेका छन् । भारतपछि अमेरिकामा २५ हजार तथा ब्राजिलमा १० हजार भन्दा बढी संक्रमित थपिए । अमेरिका र ब्राजिलमा भने संक्रमित संख्या लगातार घट्दो क्रममा रहेको छ ।

अमेरिकामा ६४ लाख बढी तथा ब्राजिलमा ४१ लाख बढीमा संक्रमण भएको छ । विश्वभर अहिलेसम्म कोरोनाबाट २ करोड ७४ लाख भन्दा बढी मानिस संक्रमित छन् । सोमबार विश्वमा १ लाख ९४ हजार भन्दा बढी संक्रमित थपिए ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ३ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी १ हजार १ सय २९, ब्राजिलमा ३ सय १५ तथा अमेरिकामा २ सय ८६ जनाले ज्यान गुमाए । अमेरिकामा हालसम्म १ लाख ९३ हजार बढी, ब्राजिलमा १ लाख २७ हजार बढी तथा भारतमा ७२ हजार बढी मानिसको संक्रमणबाट मृत्यु भैसकेको छ ।

उता विश्वभर संक्रमित मध्ये १ करोड ९५ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् । आज मेक्सिकोमा ३ हजार बढी संक्रमित थपिंदा २ सय २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *