आर्थिक

उद्योगी–व्यवसायीको एकै स्वरः निषेधाज्ञा देशले धान्न सक्दैन, प्रधानमन्त्री भन्छन– अब धेरै दिन जाँदैन (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २२ गते २०:३४
उद्योगी–व्यवसायीको एकै स्वरः निषेधाज्ञा देशले धान्न सक्दैन, प्रधानमन्त्री भन्छन– अब धेरै दिन जाँदैन (भिडियोसहित)

२२ भदौ, २०७७, काठमाडौं । निजी क्षेत्रका तीन वटै ‍संगठनले निषेधाज्ञाका कारण अर्थतन्त्र धराशायी बनेको भन्दै अब निषेधाज्ञा मुलुकले धान्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा हिजो निजी क्षेत्रले निषेधाज्ञा परिमार्जन गरेर उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरेको हो ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निजी क्षेत्रका तीनै वटा संगठनका पदाधिकारीसँग छलफल गर्नुभयो । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधि सहभागी छलफलमा व्यवसायीले प्रधानमन्त्री समक्ष निषेधाज्ञाका कारण अर्थतन्त्र धराशायी बन्दै गएको गुनासो राखे।

लकडाउन र निषेधाज्ञाका कारण अर्थतन्त्र डामाडोल भएको र रोगले भन्दा भोकले मान्छे मर्ने स्थिति देखिएको भन्दै उद्योग व्यवसाय खोल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरे । आर्थिक क्रियाकलाप खोल्न उनीहरुको माग छ । र, त्यसका लागि सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निजी क्षेत्र पूर्ण रुपमा तयार छ ।

भदौ २४ गतेपछि अहिलेको प्रकृतिको निषेधाज्ञामा परिवर्तन गर्दै चरणबद्धरुपमा आर्थिक क्रियाकलाप सञ्चालनको माग व्यवसायीको छ ।

यस्तै व्यवसायीले राष्ट्र बैंकले घोषणा गरेका विभिन्न राहत कार्यक्रम कार्यान्वयनमा नआएको प्रति समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रधानमन्त्रीले आर्थिक क्रियाकलाप विस्तारै खोल्दै जान सकारात्मक रहेको र मन्त्रिपरिषदको बैठकमार्फत व्यवसायीको माग सम्बोधन गर्ने आश्वासन दिनुभयो ।

प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धतासमेत जनाएपछि व्यवसायी आशावादी छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गतेपछि हालको निषेधाज्ञा थपिने वा परिमार्जन हुनेबारे स्पष्ट नपारेका कारण शशंकित पनि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *