तरकारीबाट बोखिमका किसानको आम्दानी बढ्यो, वडाको कार्यक्रमले थप सहज (भिडियोसहित)

२२ भदौ, २०७७ भोजपुर । भोजपुर जिल्ला सदरमुकामको करेसाबारीको रुपमा चिनिने भोजपुर नगरपालिका–५ वोखिमका अधिकांश किसानले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । वडा कार्यालयले एक घर एक प्लाष्टिक टनेलको कार्यक्रम सञ्चालन गरेपछि किसानलाई थप सहज भएको छ ।
करिव ७ सय घर परिवार रहेका भोजपुर नगरपालिका–५ वोखिमका अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् । सदरमुकाम नजिकै रहेको वोखिमका तरकारी खेती गर्ने किसानलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याएको छ । वडा कार्यालयले ल्याएको प्रोत्साहन कार्यक्रमको किसानले खुलेर प्रसंशा गरेका छन ।
किसानलाई लक्षित गरेर वडा कार्यालयले तालिम तथा विभिन्न समयमा उन्नत जातको विउविजनसंगै फलफूल जातका विरुवासमेत दिने गरेको छ । अगामी दिनमा समेत साथ सहयोग पाए व्यवसायलाई अझ विस्तार गर्ने किसानको योजना छ । विदेश जानुभन्दा तरकारी खेती गरे राम्रो आम्दानी गर्न सकिने किसानको अनुभव छ ।
वडा कार्यालयले बजेटमा कृषिलाई प्राथमिकता दिएको छ । कृषिका क्षेत्रमा विनियोजित बजेटले मात्र धेरै काम गर्न असम्भव भएपछि विभिन्न संस्थासंग सहयोग मागेर किसानको मागलाई पुरा गर्ने गरेको छ ।
वडा कार्यालयले आफ्नो तर्फबाट एक(एक ओटा टनेल वितरण गरेको छ । भू– तथा जलाधार कार्यालयसंग माग गरेर गरिब तथा विपन्न परिवारलाई लक्षित गरी २ सय २२ परिवारलाई प्लाष्टिक टनेल वितरण गरेको छ । किसानलाई प्रोत्साहन गर्न आगामी दिनमा अझै किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने वडा कार्यालयको योजना छ ।
वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको कामलाई धेरैले प्रसंशायोग्य मानेका छन् । वडा स्तरमा थोरै मात्र बजेट हुने भए पनि त्यसलाई उचित ढंगले प्राथमिकता निर्धारण गरेर वडा कार्यालयले किसानलाई खुशी बनाएको छ ।
प्रतिक्रिया