समाज

गुल्मीमा युवाको हत्या गरेर नगद र जिन्सी चोरी

हिमालय टिभी
२०७७ भदौ २२ गते १३:४५
गुल्मीमा युवाको हत्या गरेर नगद र जिन्सी चोरी

२२ भदौ, २०७७ गुल्मी । गुल्मीमा एक जना युवाको हत्या गरेर नगद र जिन्सी समान चोरी भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर– १ हस्तिचौरको छिन्ना खेलामा होटल सञ्चालन गर्दै आएका २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक कुँवरको टाउको र शरीरको अन्य भागमा कुटपिट गरेर नगद र जिन्सी समान चोरी भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा मोती र उनका दाजु यमबहादुर कुँवरले होटल सञ्चालन गर्दै आएका थिए ।

मृतक कुँवरका दाई बिहान आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको यमबहादुर कुँवरले बताउनु भयो । होटलबाट नगद रु ३५ हजार, १० हजारको एनसेलको रिचार्ज र होटलमा भएका खुकुरी रम र डायमण्ड मदिरा पनि चोरी भएको प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

अचेत कुँवरको उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याएको केही समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली घटनास्थल गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *