विदेश

कोरोना संक्रमितको सूचीमा भारत विश्वकै दोस्रो स्थानमा, एकैदिन ९१ हजार बढी संक्रमित भेटिए

हिमालय टिभी
२०७७ भदौ २२ गते ७:२७
कोरोना संक्रमितको सूचीमा भारत विश्वकै दोस्रो स्थानमा, एकैदिन ९१ हजार बढी संक्रमित भेटिए

२२ भदौ, २०७७ काठमाडौं । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितको सूचीमा भारत दोस्रो स्थानमा पुगेको छ ।

संक्रमित सूचिमा ब्राजिललाई उछिन्दै भारत दोस्रो स्थानमा उक्लिएको हो । पछिल्लो २४ घण्टामा त्यहाँ हालसम्मै बढी ९१ हजार ७ सय २३ जनामा संक्रमण भएको छ ।

यो संख्या विश्वमै एकैदिन संक्रमित हुने हालसम्मकै उच्च हो । अघिल्लो दिन त्यहाँ ९० हजार ६ सय जना संक्रमित थपिएका थिए । यससँगै त्यहाँ कोरोना संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ ।

पछिल्लो समय भारतमा दैनिक संक्रमित हुनेको संख्या अमेरिका र ब्राजिल भन्दा लगभग दोब्बरको संख्यामा रहेको छ । यस्तै त्यहाँ गत बिहिबार यता दैनिक कोरोना संक्रमित हुनेको संख्या ८० हजार माथि रहेको छ ।

त्यस्तै त्यहाँ अहिलसम्म ३२ लाख ४७ हजार बढी संक्रमणमुक्त भैसकेका छन् । यसैबीच भारतको हिमाञ्चल प्रदेशका धार्मिकस्थल आगामी बिहीबारदेखि खुल्ने भएका छन् ।

भारतपछि अमेरिकामा ३० हजार तथा ब्राजिलमा १४ हजार भन्दा बढी संक्रमित थपिए । अमेरिकामा ६४ लाख बढी तथा ब्राजिलमा ४१ लाख बढीमा संक्रमण भएको छ । विश्वभर अहिलेसम्म कोरोनाका २ करोड ७२ लाख भन्दा बढी मानिस संक्रमित छन् । आइतबार विश्वमा २ लाख २९ हजार भन्दा बढी संक्रमित थपिए ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी १ हजार ८, ब्राजिलमा ४ सय ५६ तथा अमेरिकामा ४ सय १८ जनाले ज्यान गुमाए । अमेरिकामा हालसम्म १ लाख ९३ हजार बढी, ब्राजिलमा १ लाख २६ हजार बढी तथा भारतमा ७१ हजार बढी मानिसको संक्रमणबाट मृत्यु भैसकेको छ ।

उता विश्वभर संक्रमित मध्ये १ करोड ९३ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् । आज मेक्सिकोमा ६ हजार बढी संक्रमित थपिंदा ४ सय ७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *