समाज

कालीगढ र सामग्री अभावले धनकुटाका कलात्मक झिँगटी घर यसरी लोप हुँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २२ गते ६:१०
कालीगढ र सामग्री अभावले धनकुटाका कलात्मक झिँगटी घर यसरी लोप हुँदै (भिडियोसहित)

२२ भदौ, २०७७ धनकुटा । कलात्मक शैलीका पुराना घर मध्ये एक आकर्षक र कलात्मक घर हो, झिँगटी घर । तर पछिल्लो समय धनकुटामा झिँगटी र झिँगटी बनाउने सीप भएका कामदार पाउन छाडिएको छ । त्यसैले झिँगटीका कलात्मक घरसँगै ति घरमा लुकेका कलाकृति समेत हराउँदै गएका छन् ।

धनकुटा नगरपालिका वडा नम्बर ६ सिरान बजारका बिजय शेखर श्रेष्ठले आफ्नो पूरानो घरमा झिँगटीको छानो लगाउने तयारी गर्नुभएको थियो । तर उहाँले झिँगटीको छाना लगाउन सक्नु भएन । पिता पुर्खाले निर्माण गरेको कलाकृतिलाई कायम राख्न उहाँले झिगटी घरको काम गर्ने कालीगढको धेरै खोजी समेत गर्नुभयो । तर न त कालीगढ भेटियो न त झिँगटी नै।

पछिल्लो समय धनकुटावाट झिगटी घरको प्रचलन हराउँदै गएको छ । झिगटी घरसंगै घरका झ्याल, ढोका बार्दली लगायतको स्थानमा प्रयोग हुने मल्लकालिन काष्ठकलाका बिभिन्न कलाकृतिसमेत लोप हुन थालेको छ । यस्ता झिगटी घरको इतिहास धनकुटाको इतिहाससंगै जोडिएको छ । करिब चार सय वर्ष अघिवाट धनकुटामा बस्ती बस्न थालेको पाइन्छ ।

धनकुटामा त्यो बेला देखिनै सौखिन ब्यक्तिले काठमाडौंवाट कालीगढ झिकाइ कलात्मक मल्लकालिन शैलिका झिगटि घर निर्माण गर्ने गरेको बुढापाका बताउँछन् । धनकुटा पुर्बका गौडा हुँदासम्म यो क्रमले निरन्तरता पायो । २०२० साल यता भने यस्ता घर मासिन सुरु भयो । जस्तापाता तथा पक्की घरका कारण धनकुटामा लोकप्रिय झिगटी घर अहिले भने हराउँदै गएका हुन् ।

धनकुटामा खासगरी नाला, काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रका कालाकृतिले भरिपुर्ण भएका झिगटी घर देख्न पाइन्थ्यो । माटो, झिगटी तथा काठपात प्रयोग गरी निर्माण गरिने यस्तो पुरानो शैलीको घर अहिले भने धनकुटामा दुर्लभ भइसकेको छ । एक समय जताततै देख्न पाइने यस्ता घर एक दुई वटामा सिमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *