आर्थिक

हवाई सेवामा विदेशी लगानी भित्र्याइँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २१ गते २०:३४
हवाई सेवामा विदेशी लगानी भित्र्याइँदै (भिडियोसहित)

२१ भदौं, २०७७ काठमाडौं । पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित समितिले हवाई नीतिको मस्यौदा तयार पारेको छ । मस्यौदामा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्दा ८० प्रतिशतसम्म र आन्तरिक वायुसेवाका लागि ४९ प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने नेपाली कम्पनीले ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको छ । नेपाली लगानीकर्ताले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि कुल लगानीको ८० प्रतिशत नबढ्ने गरी लगानी भित्र्याउन सक्ने व्यवस्था गरिएको छ ।

आन्तरिक वायुसेवाको हकमा भने ४९ प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सकिनेछ । फ्लाइङ स्कुलका लागि ९० प्रतिशतसम्म, मर्मत सम्भार संस्थाले ९६ प्रतिशतसम्म र यात्रु सेवा सुविधा प्रदायक व्यवसायमा ७५ प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरिएको हो।

सञ्चालकहरुले ५ वर्षभन्दा कम उमेरका वायुयान आयात गरेमा भन्सार महशुल तथा लिज करमा सहुलियत दिने समेत व्यवस्था मस्यौदामा गरिएको छ । त्यस्ता वायुयानको निरन्तर सञ्चालनका क्रममा पहिलो तीन वर्षसम्म आयकरमा सहुलियत दिने व्यवस्था पनि गरिएको छ ।

फ्लाइङ स्कुल सञ्चालनमा आएको ५ वर्षसम्म आयकरमा पूर्ण छुट तथा त्यसको ५ वर्षपछि ५० प्रतिशत छुट दिने प्रस्ताव छ । इञ्जिन ओभरहल समेत गर्ने गरी स्थापना भएको वायुयान मर्मत संस्थालाई १० वर्षसम्म निशुल्करुपमा जग्गा उपलब्ध गराउने समेत व्यवस्था छ ।

रोजगारमूलक नागरिक उड्डयनका क्षेत्रमा काम गर्न २ अर्ब रुपैयाँको लगानी गर्ने व्यक्ति वा संस्थालाई ५ वर्षसम्म आयकरमा पूर्ण छुट दिनसक्ने व्यवस्था राखिएको छ । एउटा मात्रै विमान किनेर वायुसेवा कम्पनी सञ्चालन गर्न नपाउने गरी नीति बनाइएको छ । वायुसेवा कम्पनी सञ्चालनका लागि कम्तिमा ३ वटा विमान नियमित सञ्चालनमा रहेको हुनुपर्नेछ व्यवस्था मस्यौदामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *