आर्थिक

निजी ल्याबमा कोरोना पुष्टि भए पनि बीमा दावी गर्न सक्ने मापदण्ड बनाउन समिति गठन

हिमालय टिभी
२०७७ भदौ २१ गते १९:१२
निजी ल्याबमा कोरोना पुष्टि भए पनि बीमा दावी गर्न सक्ने मापदण्ड बनाउन समिति गठन

२१ भदौ, २०७७ काठमाडौं । बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोरोना संक्रमण पोजेटिभ रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्न सक्ने गरी मापदण्ड संशोधन गर्न समिति गठन गर्ने भएको छ ।

समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसख्या मन्त्रालय र सरोकारवाला पक्षसहितको समिति गठन गर्न लागिएको बताउनुभयो । यही समितिले दिएको सुझावका आधारमा ‘‘कोरोना बीमा मापदण्ड, २०७७’’ संशोधन गरिने पनि उहाँले बताउनुभयो ।

उहाँले आजसम्ममा बीमा कम्पनीहरुमा प्राप्त भएका सबै दाबीहरु मध्ये नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरुबाट पीसीआर परीक्षण प्राप्त भएका दाबीहरुलाई सात दिन भित्र भुक्तानी दिने व्यवस्था मिलाइएको पनि बताउनुभयो ।

अध्यक्ष चापागाईंले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायभन्दा बाहेकका प्रयोगशालाबाट प्राप्त दाबीको सम्बन्धमा विस्तृत छानविन पछि मात्रै भुक्तानी गरिने बताउनुभयो ।

बीमा समितिबाट जारी भएको हालको ‘‘कोरोना बीमा मापदण्ड, २०७७’’ संशोधन नहुन्जेलसम्मका लागि कोरोना बीमालेख खरिद गरेका बीमितहरुलाई स्वास्थ्य मन्त्रालयका निकायहरुमा मात्र पीसीआर परीक्षण गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *