समाज

एम्बुलेन्स प्रयोग गरेर भतिजी अपहरण गर्ने पक्राउ

हिमालय टिभी
२०७७ भदौ २१ गते १६:५९
एम्बुलेन्स प्रयोग गरेर भतिजी अपहरण गर्ने पक्राउ

२१ भदौ, २०७७ विराटनगर । पैसाका लागि भतिजी अपहरण गर्ने मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ६ दिनपछि बालिकाको पनि सकुशल उद्धार गरेको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेलीलाई काठमाण्डौ छिर्ने क्रममा साँगाबाट प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको अपहरणमा प्रयोग भएका भएका दुई एम्बुलेन्स र सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

भदौ १६ गते बालिकाकी आमाले एक फाईनान्सबाट निकालेको दुई लाख रुपैयाँ छोरीलाई राख्न दिएको थाहा पाएपछि काका सुजनले अपहरण गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख डिएसपी दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।

पैसासहित भतिजी एम्बुलेन्समा हालेर उनी काठमाडौंतर्फ लागेका थिए । काठमाण्डौ छिर्ने क्रममा साँगाबाट प्रहरीले सुजनलाई पक्राउ गरी बालिकाको उद्धार गरेको थियो । सुजनले भतिजीलाई अपहरण गर्न चिनेका साथीको दुई वटा एम्बुलेन्स प्रयोग गरेका थिए ।

पथरीबाट एम्बुलेन्समा छोरी हिँडाएको थाहा पाएपछि बालिकाकी आमाले छोरीको हुलिया प्रहरीलाई टिपाएकी थिइन् । त्यही हुलियाका आधारमा अपहरणमा संलग्न सबैलाई पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुलाई अपहरण तथा ज्यान मास्ने बेच्ने मुुद्धा चलाएको छ । दुई लाख मध्ये ६० हजार रुपैयाँ भने अपहरणकारीले खर्च गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *