आर्थिक

आयो नगदेबाली अलैँची भित्राउने सिजन, लागत मूल्य नउठ्ने चिन्तामा किसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २१ गते ६:३७
आयो नगदेबाली अलैँची भित्राउने सिजन, लागत मूल्य नउठ्ने चिन्तामा किसान (भिडियोसहित)

२१ भदौ २०७७ पाँचथर । पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको सिजन सुरु भएको छ । किसान कतै अलैँची टिप्न थालेका छन् भने कतै तयारीमा छन् । बोटमा अलैँचीको राम्रै थुङ्गा लागेको छ । तर बजारमा मूल्य नपाउने अवस्था आएपछि उनीहरु चिन्तित छन् ।

यो पटक मौसमले साथ दिएकाले अलैँचीको राम्रो फल लागेको छ । तर अलैँचीको बजार मूल्य हेर्दा लागतसमेत नउठ्ने अवस्था रहेको किसान बताउँछन् । अहिले अलैचीको बजार मूल्य ४० किलोको २३ हजार रुपैयाँ मात्र छ । खेतबारी मासेर अलैँची खेती गरेका किसान यही अवस्था रहे विस्थापित हुनुपर्ने अवस्था आउने गुनासो गरिरहेका छन् ।

अलैँचीको मूल्य घटेको केही बर्ष भयो । पछिल्ला केही बर्षयता मूल्यमा भारी गिरावट आएको छ । विगतमा ४० किलोको एक लाख रुपैँया भन्दा बढीमा विक्री हुने गरेको थियो । नेपालबाट निकासी हुने मूख्य कृषि उपजको रुपमा अलैँचीलाई लिइएको छ । विदेशी बजारबाट नै मूल्य घटेर आउँदा समस्या भएको व्यवसायी बताउँछन् ।

अलैँचीको मुल्य विदेशी बजारमा निर्भर रहेकाले किसानलाई समस्या पर्दा पनि सरकारी निकायले खासै केही गर्न सक्ने अवस्था छैन । यसपटक उत्पादन बढ्ने निश्चित भए पनि बजार नभएकाले अलैँची खेतीबाट किसान पलायन हुने जोखिम रहेको कृषि ज्ञान केन्द्रको पनि आँकलन छ ।

नेपालमा उत्पादन हुने अलैँचीमध्ये धेरै हिस्सा प्रदेश १ का पहाडी जिल्लाले ओगटेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ लगायतका जिल्लामा अलैचीको उत्पादन बढि हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *