आर्थिक

अन्तर्राष्ट्रिय बजारमा रेशमको माग बढ्दो, दाङका युवा रेशम खेतीमा आकर्षित (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २० गते १६:१२
अन्तर्राष्ट्रिय बजारमा  रेशमको माग बढ्दो, दाङका युवा रेशम खेतीमा आकर्षित (भिडियोसहित)

२० भदौ, २०७७, दाङ । दाङमा पछिल्लो समय धेरै ब्यक्ति रेशम खेतीप्रति आकर्षित भएका छन् । देउखुरी क्षेत्रमा युवाले केही वर्षदेखि रेशम खेती गर्दै आएका छन् ।

नेपालमा भन्दा पनि अन्तर्राष्ट्रिय बजारमा यसको माग राम्रो भएकाले र जिल्लाको देउखुरी क्षेत्रमा राम्रो हावापानी भएकाले पछिल्लो समय धेरै युवा रेशमको व्यवसायीक खेतीमा लागेका हुन् ।

दाङको गढवा गाउँपालिका वडा नम्बर ४ देउखुरीमा धेरै किसानले रेशमखेती गर्दै आएका छन् । कृषि विषयमा प्रवीणता प्रमाणतह उत्तीर्ण गरेर प्रयोगात्मक कक्षासमेत सकाएका युवाले पनि ३ वर्षदेखि रेशम खेत गर्दै आएका छन् ।

नयाँ नयाँ खेती भएकाले किसान उत्साही छन् । शुरुवातमा ५ कठ्ठा जग्गामा ३० हजारको किम्बुको विरुवा लगाए पनि खडेरीका कारण घाटा बेहोर्नु परेका अर्का किसान धनिराम पौडेलको अनुभव छ । छिमेकीले किम्बु लगाएको ठाउँमा भैंसी चराएर क्षति पुर्‍याइदिए पनि किसान विचलित भएका छैनन् ।

राम्रोसँग रेशम उत्पादन भए एक विघा जमिनबाट बर्षमा ४ लाख रुपैयाँ आम्दानी हुन्छ । काभ्रेपलाञ्चोक र काठमाडौंबाट रेशम किराका अण्डा ल्याएर उनीहरुले खेती गरिरहेका छन् । बजार पनि राम्रो भएकाले किसान उत्साही छन ।

गढवा गाउँपालिकामा करिब ४० विघा जग्गामा युवाले रेशम खेती गर्दै आएका छन् । कोरोना महामारी कारण विदेशबाट आएका र गाउँमै रहेका बेरोजगार युवालाई पनि गाउँपालिकाले रेशम खेतीका लागि सहयोग गर्ने योजना बनाएको छ ।

रेशम खेतीका लागि प्रदेश सरकारले पनि किसानलाई अनुदान दिने गरेको छ । तर अनुदानमा विभेद भएको किसानको गुनासो छ । रेशम किराले बनाएको धागोबाट बनेका कपडा महंगो मुल्यमा विक्री हुने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *