भारतमा एकैदिन ८७ हजार बढी कोरोना संक्रमित थपिए
२० भदौ, २०७७ काठमाडौं । भारतमा एकैदिन विश्वमै हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा त्यहाँ ८७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय भारतमा अमेरिका र ब्राजिल भन्दा दैनिक दोब्बरको संख्यामा संक्रमित देखिन थालेका छन् ।
भारतमा गत बिहिबार यता दैनिक कोरोना संक्रमित हुनेको संख्या ८० हजार माथि रहेको छ । त्यस्तै त्यहाँ कोरोना संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । भारतपछि अमेरिकामा ५२ हजार तथा ब्राजिलमा ४५ हजार बढी संक्रमित थपिए ।
विश्वभर अमेरिकामा ६३ लाख भन्दा बढी तथा ब्राजिलमा ४० लाख भन्दा बढी संक्रमण भएको छ । उता विश्वभर अहिलेसम्म २ करोड ६७ लाखभन्दा बढी मानिसमा संक्रमण भएको छ । शुक्रबार विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ९१ हजार भन्दा बढी रह्यो ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी १ हजार ६६, अमेरिकामा १ हजार ३३ तथा ब्राजिलमा ८ सय ५५ जनाले ज्यान गुमाए ।
उता विश्वभर संक्रमित मध्ये १ करोड ८८ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।
प्रतिक्रिया