क्रिकेट संघद्वारा प्रशिक्षकसहितका कर्मचारी भर्नाका लागि दरखास्त आव्हान

१८ भदौ, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षकसहितका प्राविधिक कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
क्यानले आज मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षक ७ जनाका लागि खुल्ला दरखास्त आह्वान गरेको छ ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीसँगको समन्वयमा रिक्त पदमा विज्ञापन खुलाएको हो ।
यसअघि गत असार २६ गते बसेको क्यानको बैठकले एक हप्ताभित्र मुख्य प्रशिक्षकसँगै महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो । तर आइसीसीको प्रक्रियामा ढिलाई भएको कारण देखाउँदै क्यानले झन्डै डेढ महिनापछि विज्ञापन खुलाएको हो ।
गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लीग अन्तर्गतको घरेलु श्रृंखला लगत्तै नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ ।
क्यान निलम्बनमा रहेको बेला राष्ट्रिय खेलकूद परिषद् र आइसीसीको सहमतिमा उमेश पटवाल एक वर्षको लागि नेपालको प्रशिक्षक बनेका थिए । तर उनले सम्झौता सकिनु अघि नै राजीनामा दिएका थिए ।
प्रतिक्रिया