विदेश

भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमण पुष्टि, एकैदिन ८२ हजार बढी संक्रमित फेला

हिमालय टिभी
२०७७ भदौ १८ गते ७:५७
भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमण पुष्टि, एकैदिन ८२ हजार बढी संक्रमित फेला

१८ भदौ, २०७७ काठमाडौं । पछिल्लो समय भारतमा विश्वमै एकैदिन हालसम्मकै धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै ८२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । एकैदिन संक्रमित हुने यो संख्या भारतमा मात्रै नभएर विश्वमै हालसम्मकै उच्च हो ।

यसअघि भारतमै गएको अगष्ट ३० तारिखमा ७९ हजार ४ सय ५७ जनामा संक्रमण भएको थियो । त्यस्तै गएको जुलाई २४ तारिखमा अमेरिकामा विश्वमै ७८ हजार ५ सय ८६ जना संक्रमित भएका थिए । भारतमा संक्रमित हुनेको संख्यामा अझै कमी आउन सकिरहेको छैन । त्यहाँ कोरोना संक्रमित हुनेको संख्या ३८ लाख नाघेको छ ।

भारतपछि ब्राजिलमा ४८ हजार बढी तथा अमेरिकामा ४१ हजार बढी संक्रमित थपिए । विश्वभर अहिलेसम्म २ करोड ६१ लाख भन्दा बढी मानिसमा संक्रमण भएको छ । बुधबार विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ८६ हजार भन्दा बढी रह्यो ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । ब्राजिलमा सबैभन्दा बढी १ हजार २ सय १८, अमेरिकामा १ हजार ९० तथा भारतमा १ हजार २६ जनाले ज्यान गुमाए ।

उता विश्वभर संक्रमित मध्ये १ करोड ८४ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् । आज मेक्सिकोमा ४ हजार भन्दा बढी संक्रमित हुँदा ५ सय ७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *