दलित युवा मृत्यु प्रकरण, रौतहटमा प्रहरी निरीक्षकसहित ३ जना निलम्बित
१६ भदौ, २०७७, रौतहट । रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बनमा परेका छन् ।
प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक नविनकुमार सिंहसहित ३ प्रहरीलाई निलम्बन गरिएको हो ।
गरुडा नगरपालिका वडा नम्वर ८ बसविट्टी जिंगडियाका २० वर्षीय निरन्जन रामको हत्या आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो ।
हिरासतमै बिरामी परेका विजयरामको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवार र स्थानीयको आरोप छ ।
यसबारे अनुसन्धान हुने भएपछि सोधपुछमा संलग्न प्रहरी निरीक्षक नवीन कुमार सिंह तथा प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो । भदौ १० गते राति चमारको मृत्यु भएपछि गरुडामा दिनहुँ जसो प्रदर्शन भैरहेको छ ।
प्रतिक्रिया