आर्थिक

बंगलादेशबाट पैंचोमा मल ल्याउने सरकारको तयारी

हिमालय टिभी
२०७७ भदौ १६ गते १३:१५
बंगलादेशबाट पैंचोमा मल ल्याउने सरकारको तयारी

१६ भदौ, २०७७ काठमाडौं । टेण्डर प्रक्रियाबाट तत्काल मल नआउने भएपछि सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याउने तयारी थालेको छ ।

किसानले मल अभाव खेपिरहेका बेला कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल आयात गर्ने तयारी गरेको हो । निर्यात नगर्ने तर पछि भरपाई हुने गरी पैंचो दिन बंगलादेश राजी भएपछि मल आपूर्तिको तयारी सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

बंगलादेशबाट मल पैंचो लिने र पछि ग्लोबल टेन्डर गरी त्यति नै परिमाणको मल पूर्ति गरिदिने गरी मन्त्रालयले प्रक्रिया थालेको छ । मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मल पैंचो दिन अनुरोध गर्दै बंग्लादेशलाई ओपचारिक पत्रसमेत पठाइसकेको छ ।

यद्यपि बंग्लादेशबाट नेपालसम्म मल ल्याउने मोडालिटीबारे भने टुँगो लागिसकेको छैन् । छिट्टै यो विषय समेत समेटेर दुईपक्षीय सम्झौता हुने मन्त्रालयको भनाई छ । सम्झौता भएको २ महिनाभित्रमा सबै मल आपूर्ति हुने मन्त्रालयको भनाइ छ ।

बंग्लादेशबाट मल नआउञ्जेल साल्ट्र ट्रेडिङले आयात गरिरहेको ३२ हजार ५ सय मेट्रिक टन युरिया मलले काम चलाउँदै गर्ने मन्त्रालयको योजना छ । साल्ट्र ट्रेडिङले आयात गरेको मल कोरोना महामारीका कारण २ महिनाभन्दा बढी समय भारतको कोलकत्ता बन्दरगाहमा रोकिएपनि केही दिनदेखि मुलुक भित्रिन थालेको छ ।

धानबालीका लागि मात्र भदौमा मात्रै झन्डै ४५ हजार टन मल आवश्यक पर्छ । तर मल आयात र निर्यातको जिम्मा लिएको कृषि सामाग्री कम्पनीसँग युरिया मलको भण्डारण शून्य छ ।

कम्पनीले गत पुस र माघमा टेन्डर आह्वान गरी वैशाखमा शैलुङ र होनिको मल्टिपल इन्टरप्राइजेजसँग सम्झौता गरेपनि हालसम्म मल आयात भएको छैन् । यसै कारण देशैभरीका किसानले धान बालीको मूख्य सिजनमै चर्को मल अभाव खेपिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *