किसानका उत्पादन बारीमै कुहियो, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य (भिडियोसहित)

१४ भदौ, २०७७, कञ्चनपुर । विदेशबाट आएर आफ्नै देशमा केही गर्नुपर्छ भनेर तरकारी खेतीमा लागेका कञ्चनपुरको भिमदत्त नगरपालिकाका किसान अहिले निरास छन् । बिक्री गर्न ठिक्क पारेको तरकारी लकडाउन र निषेधाज्ञाका कारण बारीमै कुहिने अवस्था आएपछि उनीहरु चिन्तामा परेका छन् ।
कञ्चनपुरमा अहिले पनि निषेधाज्ञा छ । यसले बारीमा फलिसकेको तरकारी कहाँ लगेर बेच्ने भन्ने किसानलाई चिन्ता छ । उत्पादनलाई सहज रुपमा बजार लैजाने व्यवस्था नगरिँदा किसान खिन्न छन् ।
किसानले तरकारी जसोतसो बजार पुर्याए पनि बिक्रीका लागि झन समस्या छ । उनीहरुलाई त्यसका लागि पनि बिचौलियाको भर पर्नुपर्ने बाध्यता छ ।
किसान मात्रै हैन अर्कातिर उपभोक्ता पनि मारमा परेका छन् । निषेधाज्ञामा सीमित समय मात्रै सब्जी मण्डी खुला हुने भएकाले उपभोक्ता महंगोमा तरकारी किन्न बाध्य छन् ।
किसान र उपभोक्ताका समस्या बारे सरकार जानकार नभएको होइन । समस्या समाधानका लागि पहल भइरहेको उसको दाबी छ ।
सरकारी अधिकारीले जे सुकै भने पनि लामो समयको लकडाउन र निषेधाज्ञामा उत्पादन र वितरणको चेन बनाउन कुनै प्रयास भएको छैन । कोरोना महामारीले संसारलाई नै पिरोलेको छ ।
तर उपभोग्य सामग्रीको उत्पादन र आपुर्तिका लागि वैज्ञानिक रुपमा योजना बनाइएको छैन । नेपालमा भने निषेधाज्ञा घोषणा गरेर आनन्दले बस्ने सरकारी रवैयाले किसान मारमा परेका छन् ।
प्रतिक्रिया