आर्थिक

कोशी–तमोर करिडोरको काम समयमा नसकिने, म्याद थप्ने प्रक्रिया शुरू (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १२ गते १७:१८
कोशी–तमोर करिडोरको काम समयमा नसकिने, म्याद थप्ने प्रक्रिया शुरू (भिडियोसहित)

१२ भदौ, २०७७, पाँचथर । पूर्वी पहाडलाई तराई, प्रदेश तथा संघीय राजधानी जोड्न छोटो सडकको रुपमा लिइएको कोशी–तमोर करिडोरको काम पछि धकेलिएको छ ।

कोरोना भाईरस संक्रमणका कारण लकडाउन र निषेधाज्ञा जारी गरेका कारण काम प्रभावित भएको छ । पाँचथरको गणेश चोकदेखि सुनसरीको वराहक्षेत्र जोड्ने सडकको काम समयमा नसकिने निश्चित भएको छ ।

असोजसम्ममा ग्रावेल स्तरको सडक निर्माण सम्पन्न गरी कोशी–तमोर करीडोरमा गाडी चलाउने योजना छ । तमोर र कोशी नदिको नजिकबाट बनाइएको सडक सात प्याकेजमा काम लगाइएको छ । यी मध्ये पाँच वटा प्याकेजको ठेक्काको म्याद भदौमा सकिदै छ ।

बाँकी दुई प्याकेजको म्याद कार्तिकमा सकिने छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जानकारी दिएको छ । अहिले काम रोकिएकाले अब तोकिएको समयमा आयोजना पूरा हुँदैन । त्यसैले पाँच वटा ठेक्काको म्याद ६ महिना म्याद थप्ने प्रक्रिया अघि बढाइएको छ ।

पूर्वी पहाडलाई तराई र काठमाण्डौसँग जोड्ने द्रुत सडक मार्गको रुपमा लिइएको ‘तमोर–कोशी करिडोर’को काम गत चैतसम्म पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अघि बढेको थियो। तर कोरोनाले काममा ब्रेक लगाइदियो ।

करिब ६ किलोमीटर सडकको ट्रयाक पुरा हुन बाँकी छ । ६ अर्ब १५ करोड १४ लाख रुपैयाँमा १ सय ४५ किलोमिटर सडक बनाउन ठेक्का लागेको थियो । तमोर जलाशययुक्त आयोजना निर्माण भयो भने डुब्न सक्ने ठाँउमा सडक माथि सार्दा लम्बाई र लागत केहि बढ्ने भएको छ ।

यो सडक पूरा भएपछि ताप्लेजुङ, पाँचथर, तेह्थुम र धनकुटाका बासिन्दालाई तराई तथा सुविधायुक्त सहर पुग्नलाई सजिलो हुने छ । त्यसैले यो सडकलाई यो क्षेत्रको निक्कै महत्पूर्ण योजनाको रुपमा लिइएको छ ।

गणेशचोकबाट सुभाङखोला, माझिटार, रानीगाँउ, स्याबरुम्बा, आङ्ना मौवा हुँदै धनकुटा जोडिन्छ । धनकुटाको चौविसे, साधुरे, मुलघाट, त्रिवेणी बराह क्षेत्र हुँदै चतरा पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *